कात्तिक अन्तिम साता फुङलिङमा हुने शल्यकृया सहितको आँखा शिविरमा रुइतको परिवारै खटिने
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २२ । कात्तिक अन्तिम साता ताप्लेजुङमा हुने शल्यकृया सहितको निःशुल्क आँखा शिविरमा विश्व विख्यात डाक्टर सन्दुक रुइतको परिवारनै खटिने भएको छ । डाक्टर सन्दुक,उहाँकी
श्रीमति नन्दा र छोरा सागर सहितको चिकित्सक तथा आँखा प्राविधिकहरुको टोलीले फुङलिङमा हुने शल्यकृया सहितको निःशुल्क आँखा स्वास्थ्य शिविरमा आँखाको परीक्षण,उपचार तथा शल्यकृया गर्ने निक्र्योल भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङले डाक्टर रुइत परिवारका साथ तिलगंगा आँखा अस्पतालको चिकित्सक तथा प्राविधिक गरी २१ जना टोलीले कात्तिक फुङलिङ आउने बताउनुभयो । उहाँका अनुसार कात्तिक २८ गते फुङलिङ आइपुग्ने टोलीले कात्तिक २९ गते आँखा रोगीहरुको अवस्था परीक्षण गरी शल्यकृया गर्नुपर्ने बिरामीको छनौट गर्ने छ । छनौट भएका बिरामीको आँखाको कात्तिक ३० देखि शल्यकृया सुरु गरी मंसिर १ र २ गतेसम्म आँखा शिविर सञ्चालन हुने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति तथा केन्द्रीय सूचना तथा सञ्चार समिति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक ईञ्चार्ज समेत रहनु भएका वरिष्ठ नेत्र अधिकृत गुरुङका अनुसार कात्तिक ३०,मंसिर १ र २ गरी आँखा शिविरका लागि तीनदिनको समय भनिएकोमा अब डिचेन डोङ्गलामा कात्तिक २९ गतेबाटै आँखाका रोगीहरुको परीक्षण गरिने छ । परीक्षणका क्रममा शल्यकृया गर्नुपर्ने बिरामी फेला परेमा कात्तिक ३० गतेबाटै शल्यकृया सुरु गरी उक्त क्रम मंसिर २ गतेसम्म जारी रहने गुरुङले बताउनुभयो । आँखाका रोगीहरुले परीक्षणका लागि कात्तिक २९ गतेबाटै डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा सम्पर्क गर्न सकिने समेत गुरुङले जानकारी दिनुभयो । यसअघि तीनदिनको शिविर भनिने गरिएकोमा शिविरको पहिलो दिन शल्यकृया गर्नुपर्ने बिरामीको छनौट गरी दोस्रोदिनबाट मात्र आँखाको शल्यकृया गर्ने गरिएको थियो ।
यसपटकको शिविरमा तीनदिन पूर्णतया उपचार,परीक्षण र शल्कृया गर्नेगरी सेवाग्राहीको आँखाको परीक्षण कात्तिक २९ गते सुरु गरिने नेपाल नेत्रज्योति संघले जनाएको छ ।‘यो हिसावले आँखा शिविर कात्तिक २९ गतेबाट सुरु भएको मानिने छ’नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले भन्नुभयो‘तर शल्यकृया भने कात्तिक ३० गतेबाट मात्रै हुने छ’। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएका रुइत राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त आँखा रोग विशेषज्ञ हुनुहुन्छ ।