प्रभावकारी शिक्षण सिकाईका लागि पाथीभरा याङवरकद्धारा अभिभावक सचेतना कार्यक्रम सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १५ । शिक्षण सिकाई सुधारमा अभिभावकलाई थप जिम्मेवार बनाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले अभिभावक सचेतना कार्यक्रम सुरु गरेको छ ।

प्रत्येक वडामा पुगेर पालिकाले बिद्यालय अवधि र बिद्यालय बाहिरको अवधिका क्रियाकलाप बारे अभिभावकसंग छलफल गर्न थालेको गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङले जानकारी दिनुभयो । छलफलका क्रममा अभिभावकले आफ्ना बालबालिकाको हेरचाहमा दिएको ध्यान,पोषणयुक्त खाना र घरायसी शैक्षिक वातावरण,बालबालिकाको व्यवहार र आनीवानी सहितका बिषयका बारेमा जानकारी लिने गरेको छ । यसबाहेक बिद्यालयबाट प्रदान गरिएको गृहकार्यको अवस्था,प्रभावकारी शिक्षण सिकाईका लागि शिक्षकले प्रयोग गर्दै आएको विधि,शिक्षकले बिद्यालयमा दिएको समय आदिका बारेमा समेत चासो राख्न सम्वन्धित अभिभावकमार्फत बिद्यार्थी समेतलाई सजग गराउन थालिएको छ ।

पालिका अध्यक्ष केशरकुमार सुब्बाले बालबालिका करिव दैनिक १८ घण्टा बालबालिकाकासंग हुने भएकोले आफ्ना बालबच्चाको पढाई सुधारमा उनीहरुको भूमिका अहम् हुने भएकोले पालिकाले यस्तो अभियान थालनी गरेको बताउनुभयो । शिक्षण सिकाई सुधारमा बिद्यार्थी,बिद्यालय,शिक्षक र अभिभावकको उत्तिकै भूमिका हुने भएकोले घरमा रहेको समयमा अभिभावकमार्फत सिकाई व्यवस्थित गर्न थप मद्यत पुग्ने भएकोले यस्तो अभियान अघि बढाईएको समेत सुब्बाले बताउनुभयो ।

शिक्षकले गृहकार्य दिए नदिएको,बिद्यार्थीले गरे नगरको,घरमा रहँदा पढाईमा लगाव लगाए नलगाएको र बिद्यार्थीको आबिबानी सही भएको नभएको बिषयमा अभिभावक अझ बढी जानकार हुने भएकोले अभिभावक सचेतना कार्यक्रममार्फत शिक्षण सिकाई सुधारको प्रयास गरिएको शिक्षा अधिकृत तामाङले बताउनुभयो । उहाँले पढाईमा ध्यान दिने वातावरण बिद्यालय बाहेक अभिभावकले समेत बनाउन सक्ने भएकोले सचेतना कार्यक्रम प्रभावकारी हुने पालिकाको विश्वास रहेको जनाउनुभयो । आधारभूत तहबाटै बालबच्चालाई असल सिकाई र प्रभावकारी पढाईको वातावरण तयार गर्ने हो भने बिद्यार्थीको पढाईप्रतिको अवस्थामा सुधार आउने पालिका अध्यक्ष सुब्बा बताउँनुहुन्छ ।‘पालिकाले अघि सारेको यो अभियानमा अभिभावकले बहुत रुची र चासो राखेको पाइयो’पालिका अध्यक्ष सुब्बाले भन्नुभयो ।

सचेतना कार्यक्रममार्फत पालिकाले शिक्षण सिकाईका लागि अभिभावकलाई व्यवहारिक कार्यदेश दिएको छ । कार्यदेश अनुसार बिद्यार्थीको पढाईप्रतिको अवस्था बुझ्ने,उसको आनिबानी र बिद्यालयमा भइरहेको पढाई र सिकाईको अवस्था बारे जानकारी हासिल गर्ने र बिद्यालयले सुधार गर्नुपर्ने बिषय भए अभिभावकले बिद्यालयलाई सुझाव दिन सक्न भएका छन् । पढाई अवस्थाप्रति जानकारी हासिल गर्न अभिभावकले बिद्यालयको अवलोकन समेत गर्न सक्नेछन् । बालबच्चालाई खुवाइने पोषणयुक्त र पत्रुबिहिन(जंकफुड बिहिन)खाना,हेरचाह र स्याहारसुसारका बारेमा समेत जानकारी गराउने ध्येयले यस्तो कार्यक्रम पालिकाका ६ वटै वडाहरुमा सञ्चालन गरिएको पालिका उपाध्यक्ष रनमाया गुरुङले बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts