ताप्लेजुङमा आइतवारबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन दर्ता सम्वन्धी शिविर,पत्रकार दक्षता तालिम पनि सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १६ । ताप्लेजुङमा आइतरबाट प्रेस प्रतिनिधि प्रमाणपत्र बितरण तथा अनलाइन दर्ता सम्वन्धी दुईदिने घुम्ति शिविर सुरु भएको छ ।
सूचना तथा प्रसारण विभागले नेपाल पत्रकार महासंघ ताप्लेजुङसंगको सहकार्यमा यस्तो शिविर सुरु भएको । शिविरसंगै दुर्गम क्षेत्रका पत्रकारहरुका लागि क्षमता अभिबृद्धि तालिम समेत गरिएको छ । शिविर तथा तालिमको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले उद्घाटन गर्दै पत्रकारिता क्षेत्रको क्षमता विकास तथा पत्रकारहरुका लागि आवश्यक पर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र र अन्य आवश्यकीय कानुनी प्रकृयाका लागि सहजीकरण हुने विश्वास लिनुभयो ।
उहाँले तालिमले पत्रकारिता क्षेत्रमा क्रियाशिल जनशक्तिलाई एङगल छनौट देखि समाजलाई सकारात्मक दिशातर्फ केन्द्रित गर्न प्रोत्साहित गर्ने विश्वास लिनुभयो । तालिमका प्रशिक्षक तथा त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक डाक्टर बिजय मिश्रले पत्रकारिता क्षेत्रमा क्रियाशिल जनशक्तिलाई समाचारको एङगल,अन्र्तवार्ता शैली र आफुले समाचार लेखनको क्रममा समाचारका मर्म भित्र पर्न छुटेका बिषय समेटेर प्रभावकारी समाचार शैलीको विकास हुने विश्वास लिनुभयो ।
कार्यक्रममा यहाँस्थित दुर्गादल गुल्मका गुल्मपति मदन घिमिरे,जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावल,सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र डिएसपी रवीन सिलवाल,प्रमुख अनुसन्धान अधिकृत सञ्जय मण्डल सहितको उपस्थिति थियो ।
सूचना तथा प्रसारण विभागको टोलीले ताप्लेजुङ,पाँचथर,तेह्रथुम सहितका जिल्लाका पत्रकारहरुलाई लक्षित गरी प्रेस प्रतिनिधि प्रमाणपत्र बितरण तथा अनलाइन दर्ता सम्वन्धी शिविर आयोजना गरेको सूचना विभागका शाखा अधिकृत टेकबहादुर ओलीले जानकारी दिनुभयो । सूचना तथा प्रसारण विभागको टोलीमा शाखा अधिकृत ओलीका साथ शाखा अधिकृत सुमनचन्द्र रौनियार,नायव सुब्बा सैसव नेपाल र कम्युटर अपरेटर खगेन्द्र कार्की रहनु भएको छ ।
पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला हुलाक कार्यालय ताप्लेजुङका प्रमुख नवराज गिरी,पत्रकार महासंघ ताप्लेजुङका संस्थापक सभापति मनमणि काफ्ले,पूर्व अध्यक्षद्धय खगेन्द्र अधिकारी र केशवप्रसाद भट्टराई,पत्रकार महासंघको कोशी प्रदेश समिति सदस्य माला पालुङवा सहित पत्रकार महासंघ ताप्लेजुङका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ । तालिम सोमवार समेत सञ्चालन हुने छ ।