ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाद्धारा याम्फुदिनमा एकीकृत घुम्ति सेवा शिविर सम्पन्न

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाको वडा नं ८ याम्फुदिनमा एकदिने एकीकृत घुम्ति सेवा शिविर सम्पन्न गरेको छ ।

यसअघि पालिकाको वडा नं ७ खेवाङमा याम्फुदिन र खेवाङका सेवाग्राहीलाई लक्षित गरी घुम्ति शिविर सञ्चालन गरिएकोमा सेवाग्राहीले याम्फुदिनमै घुम्ति शिविर सञ्चालनको माग र अपेक्षा गरेकोले याम्फुदिनमै पुगेर घुम्ति सेवा शिविर सञ्चालन गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो ।

पालिकाका सूचना अधिकारी सञ्जीव सिंहका अनुसार नेपाल नेत्रज्योति संघको समन्वय र पाँचथरको याङवरक गाउँपालिकाको आर्थिक सहयोगमा थर्पु बजारमा सञ्चालित आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा १ सय ८२ जनाको आँखाको परीक्षण गरिएको छ । सो परीक्षणका क्रममा २ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । ३३ जनालाई निःशुल्क चश्मा बितरण तथा अन्यलाई औषधि बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका चिकित्सक डाक्टर सञ्जित भट्टराईको नेतृत्वमा पुगेको स्वास्थ्यकर्मीको टोलीले १ सय ५७ जनाको परीक्षण तथा निःशुल्क औषधि बितरण गरिएको छ । सो क्रममा एकजनाले व्यवसाय दर्ता तथा एकजनाले सिफारिस सहितका सेवा लिएका थिए । यसअघि पालिकाले फागुन २९ गतेबाट चैत ७ गते सम्म एकीकृत घुम्ति सेवा शिविर सुरुगरी पालिकाका प्राय सबै वडामा पुगेर जनतालाई गाउँघरबाट सेवा प्रदान गरेको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts