ताप्लेजुङको सिरिजङ्गाद्धारा ७६ जना बढीको मोतियाबिन्दुका बिरामीको शल्कृया

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आइतवार र सोमवार गरी ७६ जना मोतियाबिन्दुका भएका आँखाका बिरामीलाई शल्यकृया सेवा प्रदान गरेको छ ।

पालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मोतियाबिन्दु भएका बिरामीको शल्यकृया भइरहेको हो । सोमवार ४५ जना मोतियाबिन्दुका बिरामीको आँखाको शल्यकृया गरी शल्यकृयाको कार्यक्रम चलिरहेको हुने सिरिजङ्गा गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य शाखा संयोजक संजीव सिंहले जानकारी दिनुभयो । शल्यकृया तथा मोतियबिन्दुका बिरामीको छनौट गर्ने कार्य यो समाचार तयार पार्दा सम्म जारी रहेको छ । पहिलो दिन आइतवार ३१ जना मोतियाबिन्दुका बिरामीको आँखाको शल्यकृया गरिएको थियो । मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा आइतवारबाट तेल्लोकमा शल्यकृया सहितको सेवा प्रदान भइरहेको छ ।

पालिकाले यसअघि मेची आँखा अस्पतालकै प्राविधिक सहयोगमा पालिकाका प्रत्येक वडामा पुगेर मोतियाबिन्दुका बिरामीको छनौट गरेको थियो । प्रत्येक वडामा छनौट भएका मोतियाबिन्दुका बिरामीलाई पालिकाले यातायातको प्रवन्ध गरी शल्यकृया स्थल प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई शल्यकृया सेवा,औषधि र चश्मा समेत निःशुल्क रुपमा उपलब्ध गराएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो । सोमवार १ सय ९१ जनाको आँखाको परीक्षण तथा १ सय ४९ जनाको स्वास्थ्य जाँच संगै उनीहरुलाई निःशुल्क चश्मा तथा औषधि बितरण गरिएको पालिकाले जनाएको छ ।

यसअघि एकीकृत घुम्ति शिविर लिएर गाउँ गाउँ पुगेको टोलीले सिकैचामा ७ जना, मामाङ्खेमा १२,खेवाङमा ७,सिनाममा १८ र आम्बेगुदिनमा २२ जना मोतियाबिन्दुका बिरामी भेटिएका थिए । तेल्लोक र पेदाङका सेवाग्राहीलाई लक्षित गरी तेल्लोकमा समेत आँखा तथा स्वास्थ्य जाँच संगै निःशुल्क औषधि तथा चश्मा बितरण गरिएको छ । एकीकृत घुम्ति शिविरका क्रममा पालिकाको केन्द्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका मेडिकल अधिकृत डाक्टर सञ्जित भट्टराईको नेतृत्वमा स्वास्थ्य जाँच तथा निःशुल्क औषधि बितरण हुँदै आएको छ ।

एकीकृत घुम्ति शिविर अन्तरगत पालिकाले वडा नं ६ मामाङ्खे,वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिनलाई लक्षित गरी खेवाङ,वडा नं १ सिनाम,वडा नं २ आम्बेगुदिन,वडा नं ३ सिकैचा तथा वडा नं ४ तेल्लोक र वडा नं ५ पेदाङलाई लक्षित तेल्लोकमा सेवा बितरण भईरहेको छ । एकीकृत घुम्ति शिविरमा जन्म,मृत्यु,बिबाह,बसाँईसराई सहितका कार्य हुने व्यक्तिगत घटना दर्ता,बैंक खाता खोल्ने,व्यवसाय दर्ता तथा नविकरण,निःशुल्क औषधि बितरण तथा चेकजाँच र उपचार र गाउँपालिका तथा वडाबाट सञ्चालन हुने योजनाको प्राविधिक मूल्याङ्कन,सम्झौता र अनुगमन सहितका कार्य हुँदै आएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts