|

पाथीभरामा भक्तजनले चढाएको ६९ तोला सुन सङ्कलन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १८ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पछिल्लो दुई वर्षको अवधिमा ६९ तोला सुन सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको उक्त परिमाण बराबरको सुन सङ्कलन भएको बिहीबार भेटीपाती व्यवस्थापन समितिले सार्वजनिक गरेको हो ।
समितिका अनुसार २०७५ साउनदेखि २०७७ साउन २० गते सम्ममा उक्त सुनजन्य धातु सङ्कलन भएको हो । समिति संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनका अनुसार सो परिमाणको सुनमध्ये ५४ तोला ५७ लाल एक नम्बर र १४ तोला ४६ लाल दुई नम्बरवाला रहेको छ ।
यस्तै करिव ६३ लाल तौल भएको एकथान औठी, एकथान सिक्री र तीन तोला अनुमान गरिएको एकथान कण्ठ समितिले छुट्टै राखेको छ । औठी, सिक्री र कण्ठसमेत ७२ तोला बढी सुन समितिसँग रहेको जनाइएको छ । २९ तोला भने रिफाइन गरिएको सुन भएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानले जानकारी दिनुभयो । यस्तै यस अवधिमा चाँदी २९ केजी १०० ग्राम सङ्कलन भएको पनि समितिले जानकारी दिएको छ ।

भेटीपाती व्यवस्थापन समितिले सार्वजनिक गरेको सुन पाथीभरा क्षेत्र विकास समितिमार्फत बिक्री गर्ने प्रक्रिया अघि बढाइने भएको छ । क्षेत्र विकास समितिको विनियम तथा आर्थिक नियमअनुसार न्युनतम् मूल्य निर्धारण गरी लिलाम बढाबढको प्रक्रिया अपनाई सुन बिक्री गरिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts