| |

आयआर्जन बढाउन झोला निर्माण तालिम सञ्चालन

-उज्यालो पाष्ट
ताप्लेजुङ, चैत ५ । ताप्लेजुङमा घरेलु उत्पादनको प्रवर्द्धन गर्न झोला निर्माण (बनाउने) गर्ने तालिम सञ्चालन गरिएको छ । घरेलु तथा स्थानीय उत्पादनका ढाका, खाँडी र अल्लोको कपडालाई झोला निर्माण गर्न कच्चा पदार्थको रुपमा प्रयोग गरी तालिम सञ्चालन गरिएको हो ।
जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा सञ्चालित १५ दिने झोला निर्माण गर्ने तालिम आइतबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख युवराज घोर्साइँले स्थानीय तथा घरेलु उत्पादनको प्रवर्द्धन गर्न तालिम सञ्चालन गरिएको बताउनुभयो ।
घोर्साइँका अनुसार स्थानीय महिलाहरुको आम्दानी वृद्धि गर्नमा सहयोग पु¥याउने उद्देश्यलेसमेत झोला बनाउने तालिम सञ्चालन गरिएको हो । तालिमअन्तर्गत झोला निर्माणमा जिल्लाभित्रकै उद्यमीहरुबाट उत्पादन गरिएका अल्लोको कपडा, खाँडी तथा ढाका कपडाको प्रयोग गरिएको उहाँले बताउनुभयो ।
घरेलु उत्पादनका कपडाको प्रयोग गरेर झोला उत्पादन गरी बिक्री गर्न वा व्यवसाय सञ्चालन गरेमा कपडा र झोला उत्पादन गर्ने दुवै उद्यमीलाई फाइदा हुने उहाँको भनाइ छ । यसरी विभिन्न सीप सिकेर उद्यम गर्न चाहाने महिला तथा उद्यमीहरुलाई घरेलु कार्यालयले तालिमको अवसरहरु प्रदान गरिरहेको उहाँले बताउनुभयो । विभिन्न तालिमले यहाँका उद्यमीलाई आत्मनिर्भर बनाउन र उनीहरुको आम्दानी वृद्धि गर्नमा सहयोग पुग्ने विश्वास घरेलु कार्यालयको रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईका अनुसार गत फागुन २० गतेदेखि चैत ५ सम्म सञ्चालित झोला निर्माण तालिममा ११ जना महिलाले सहभागिता जनाएका थिए । जिल्लास्थित नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समितिसँग सहकार्य गरेर तालिम गरिएको हो । तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Similar Posts