बिपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापनाका बिषयमा ताप्लेजुङमा अन्तरक्रिया

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २० । बिपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापनाका बिषयमा राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतवार ताप्लेजुङको फुङलिङमा स्थानीय तहका जनप्रतिनिधि सहितका सरोकारवालासंग छलफल गरेको छ ।

बिपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापनाका बिषयमा भइरहेको प्रगति,समस्याका सवाल र समाधानका विकल्प दिने उद्देश्य सहित यस्तो छलफल गरिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । छलफलका क्रममा स्थानीय तहका प्रमुखहरुले आ–आफ्ना क्षेत्रका बिपद्का सम्भावित घटना,बिपद् पूर्व तयारी र प्रतिकार्य,पुर्ननिर्माण तथा पुर्नस्थापनाका बिषयमा प्राधिकरण समक्ष जानकारी गराएको फुङलिङ नगरप्रमुख अमिर मादेनले बताउनुभयो । प्राधिकरण समक्ष मादेन सहित सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानले सवाल उठाउनु भएको थियो ।

पालिकाका बिपद् फोकल पर्सनहरुले बिपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापनाका बिषयमा पालिका क्षेत्रहरुमा भइरहेको प्रगति र तथ्याङ्क प्रबिष्टी सहितका बिषयमा जानकारी गराउनु भएको थियो । जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले ताप्लेजुङमा भएका पछिल्ला बिपद्का घटना,न्यूनीकरणका लागि भएका प्रयास,बिपद् प्रभावितलाई प्रदान हुने राहत तथा उद्धारका कार्य र बिपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापनाका बिषयमा जिल्लाभर भएका कार्य बिबरण प्रस्तुत गर्नु भएको थियो ।

प्राधिकरणका शाखा अधिकृत बासुदेव खनालले प्राधिकरण,यसले सम्पादन गर्ने कार्य,यसको संगठनात्मक संरचना सहितका बिषयमा जानकारी गराउनु भएको थियो । प्राधिकरणबाट कोशी प्रदेशमा रहेर प्राविधिक क्षेत्रको कार्य सम्पादन गरिरहेकी एञ्जिला ताम्रकारले स्थानीय तहका बिपद् फोकल पर्सनलाई तथ्याङ तथा बिबरण प्रबिष्टीका बिषयमा जानकारी गराएको प्राधिकरणका वित्त अधिकृत मात्रिका कोईरालाले बताउनुभयो । कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,मैवाखोला गाउँपालिका उपाध्यक्ष कलमकुमारी लिम्बू,सुरक्षा निकायका प्रमुखहरु र पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts