पशुको उन्नत जातीय नश्ल सुधारका सेवाग्राहीलाई निःशुल्क रुपमा कृत्तिम गर्भाधान सेवा उपलब्ध गराउँदै मेरिङदेन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १० । व्यवसायिक पशु पालनलाई दिगो र आत्मनिर्भरमुखी बनाउन ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशुको उन्नत जातीय नश्ल सुधारका लागि निःशुल्क रुपमा कृत्तिम गर्भाधान सेवा उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले पशुका लागि कृत्तिम गर्भाधान कार्यक्रम सञ्चालन कार्यविधिनै बनाएर पालिकाका ६ वटै वडाका सेवाग्राहीलाई व्यवसायिक पशु पालनतर्फ प्रोत्साहित गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङ्गामले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा स्थायी वा अस्थायी बसोबास गर्ने सबै सेवाग्राहीले यो सुबिधा पाउने छन् । गाई,भैंसी र बाख्राको नश्ल सुधारका लागि कृत्तिम गर्भाधान कार्यक्रम अघि बढाउने गाउँपालिकाले जनाएको छ । कार्यविधि अनुसार सम्वन्धित कार्यालयमै पशुलाई लगेर कृत्तिम गर्भाधान गराए पशु प्राविधिकले निःशुल्क सेवा दिने छन् । यस्तै पशु प्राविधिक कार्यालय समय भित्र हाजिर भई कार्यक्षेत्र भित्रका सम्वन्धित कृषकको घरमा गई पशुलाई कृत्तिम गर्भाधान सेवा उपलब्ध गराए वापत पालिकाले ८ सय रुपैयाँ उपलब्ध गराउने भएको छ ।

कार्यालय समय बाहिर कृषकको घरमा गई पशुलाई कृत्तिम गर्भाधान गराए पशु प्राविधिकलाई पालिकाले १ हजार २ सय र अन्तरपालिका गई पशुलाई कृत्तिम गर्भाधान गराए पालिकाले सम्वन्धित पशु प्राविधिकबाट २ सय रुपैयाँ लिएर पालिकाको आन्तरिक राजश्व खातामा जम्मा गर्ने छ । जुनसुकै समयमा बाख्रालाई कृत्तिम गर्भाधान गराए पालिकाले सम्वन्धित पशु प्राविधिकलाई ५ सय रुपैयाँ उपलब्ध गराउने भएको छ । पशुको उन्नत जातीय नश्ल सुधारका लागि पालिकाले निःशुल्क रुपमा सेवाग्राहीलाई सेवा दिने छ भने अन्तरपालिका बाहेक पशु प्राविधिकलाई सेवा शुल्क वा प्रोत्साहन वापत आवश्यक शुल्क उपलब्ध गराउने भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts