एउटै प्लगमा धेरै लोड नदिन र काम सकिएपछि स्वीचअप गर्न विद्युत बितरण केन्द्रको अनुरोध
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २३ । नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ बितरण केन्द्रले एउटै प्लग वा बोर्डमा अत्यधिक लोड नदिन तथा प्रयोगमा नआएका विद्युत उपकरण स्विच अफ गरेर छोड्न सेवाग्राहीलाई आग्रह गरेको छ ।
विद्युतीय प्रवाह बढी लचक र बढी उदार भइरहेको भन्दै सेवाग्राहीले गुनासो गरेपछि विद्युत प्राधिकरणको ताप्लेजुङ बितरण केन्द्रले सेवाग्राहीलाई सम्भावित जोखिमबाट बच्ने उपायहरु बताएको छ । विद्युत प्राधिकरणको ताप्लेजुङ बितरण केन्द्र प्रमुख उमेश श्रेष्ठका अनुसार सम्भावित जोखिमबाट बच्न सेवाग्राहीले न्यूनतम् आधार सर्त र प्रकृया पूरा गरे हुन्छ । श्रेष्ठले घर,कार्यालय तथा पसलमा प्रयोग भएका विद्युतीय तार,स्विच,प्लग तथा खुल्ला तारहरु तत्काल मर्मत गर्न समेत सेवाग्राहीलाई सल्लाह दिनु भएको छ।
श्रेष्ठले विद्युत मिटर,मेनलाइन तथा ट्रान्सफर्मर नजिक प्रज्वलनशिल बस्तु नराख्न,कुनैपनि असामान्य अवस्था(चिङ्गारी,धुँवा जस्ता)संकेत देखिएमा तुरुन्त विद्युत प्राधिकरणमा जानकारी गराउन,घर वेयरिङ गर्दा विद्युतीय उपकरणको क्षमता अनुसारको तार प्रयोग गर्न,विद्युत आगलागी भएको अवस्थामा पानीको प्रयोग नगरी बालुवा वा अग्नि निरोधक यन्त्र(फायर एक्सट्रिङग्युसर)को प्रयोग गर्न समेत विद्युत बितरण केन्द्रले सेवाग्राहीलाई आग्रह गर्नु भएको छ । केहिदिन अघि मात्र फुङलिङ नगरपालिकाका वडा नं ४ को शान्ति टोलको एक पसलमा विद्युत सर्ट भई आगलागी भएको थियो । उक्त आगलागी नियन्त्रणका लागि अग्नि निरोधक यन्त्र निकै कामयावी भएको बताइँदै आएको छ ।