|

फुङ्लिङमा शनिबार बिहानै एक घर जल्यो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर २३ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिबार बिहानै एक घरमा आगलागी भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा एक घरमा आगलागी भएको हो ।
आगलागीबाट स्थानीय लालबहादुर गुरुङको ढुङ्गा, माटो र जस्तापाताको प्रयोग गरिएको मतान घर जलेर नष्ट भएको छ । सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडावर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिका सदस्यसमेत रहनुभएका स्थानीय विष्णु तिवारीका अनुसार गुरुङको दुईवटामध्ये एउटा घर जलेर नष्ट भएको हो ।
बिहान करिव ७ः१५ बजेतिर घरमा अचानक आगलागी भएको र सँगै रहेको अर्को घर भने तत्काल स्थानीयबासी जुटेर बचाउन सफल भएको उहाँको भनाइ छ । घरमा लागेको आगो फुङ्लिङ नगरपालिकाको दमकल (बारुणयन्त्र)सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितिमा नियन्त्रण लिएको हो । सो घरमा कमल लिम्बूको परिवार भाडामा बस्दै आएका थियो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरधनी गुरुङको करिव चार लाख र भाडामा बस्ने लिम्बूको करिव एक लाख गरी पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रनाउ लिम्बूले जानकारी दिनुभयो । यता स्थानीयबासीले भने घर जलिसकेपछि मात्र दमकल पुगेकाले घरमा भएको सामानहरु जोगाउन नसकिएको बताएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts