|

ताप्लेजुङका माध्यमिक तहका बिद्यालयका लागि २३ जना शिक्षकलाई दिईयो नियुक्ति

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २० । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले माध्यमिक तहका लागि सिफारिस भई आएका २३ जना शिक्षकलाई एकमुष्ट रुपमा नियुक्ति पत्र हस्तान्तरण गरी कार्यक्षेत्रका लागि बिदाई गरेको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा नियुक्तिका लागि सिफारिस भई आएकाहरुलाई पदभार ग्रहणका लागि बिदाई गरिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी विज्ञान बिषयका शिक्षक आउनु भएको छ । १२ जना विज्ञान बिषयका शिक्षक आउँदा गणित बिषयका ८ जना रहनु भएको छ । सामाजिक शिक्षाका २ र अंग्रेजी बिषयका १ जना शिक्षक आएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

शिक्षा विकास निर्देशनालय धनकुटाले माध्यमिक तहको विज्ञापनमा सफल भएकाहरुलाई ताप्लेजुङको स्थानीय तह छनौटका लागि प्रकृया अघि बढाउन शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार आठराई त्रिबेणी गाउँपालिकाका गणितका १,मैवाखोलामा गणितका ३ र विज्ञानका १ गरी ४ जना,मेरिङदेन गाउँपालिकामा विज्ञानका १ जना,फुङलिङ नगरपालिकामा विज्ञानका २ जना र मिक्वाखोला गाउँपालिकामा गणितका १ र विज्ञानका २ गरी ३ जना शिक्षकले नियुक्ति पाउनु भएको छ ।

यस्तै फक्ताङ्लुङ गाउँपालिकामा गणित र सामाजिक विकास १–१ तथा विज्ञानका २ गरी ४ जना, सिरिजङ्गा गाउँपालिकामा गणित र सामाजिक विकास १–१ तथा विज्ञानका २ गरी ४ जना,सिदिङ्वा गाउँपालिकामा गणित र विज्ञानका १–१ गरी २ जना र पाथीभरा याङ्वरक गाउँपालिकामा विज्ञान र अंग्रेजीका १–१ गरी दुईजना शिक्षकले नियुक्ति पाउनु भएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts