निर्यातजन्य वस्तुको मूल्य र बजार प्रवन्ध गर्नुपर्नेमा सरोकारवालाको जोड
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १९ । ताप्लेजुङमा सरकारवालाले निर्यातजन्य वस्तुको मूल्य र बजार प्रवन्ध गर्नुपर्नेमा जोड दिएका छन् । कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन कार्यदलद्वारा आयोजित अन्तरक्रियामा सहभागी सरोकारवालाले निर्यातजन्य वस्तुको स्थिर मूल्य र बजार प्रवन्धका विषयमा जोड दिएका हुन् ।
कोशी प्रदेश सरकारद्वारा गठित कार्यदलले सदरमुकाम फुङ्लिङमा शुक्रबार आयोजना गरेको अन्तरक्रियामा वस्तुको स्थिर मूल्य कायम हुन र बजारको उचित प्रवन्ध गर्नुपर्ने आवश्यक रहेको सहभागीले बताएका छन् । निर्यातजन्य वस्तुको उचित बजारको प्रवन्ध नहुँदा र अस्थिर मूल्यको मारमा उत्पादक र व्यवसायी पक्ष रहेको सहभागीको भनाइ छ ।
कृषिसहितका निर्यातजन्य वस्तुको उचित तथा व्यवस्थित बजार प्रवन्ध र स्थिर मूल्य नहुँदा उत्पादक किसान र लगानीकर्ताले कुनैबेला ठुलो घाटा बेहोर्नुपर्ने अवस्था रहेको अन्तरक्रियामा सहभागी सरोकारवालाले बताएका छन् । बजार प्रवन्ध र स्थिर मूल्यले मात्र कृषि क्षेत्रमा किसानले गरेको योगदान र व्यवसायी तथा लगानीकर्ताले गरेको लगानीको रक्षा हुने सरोकारवालाको भनाइ छ ।
हालसम्म अव्यवस्थित बजार र अस्थ्रि मूल्यकै कारण निर्यातजन्य वस्तुको उत्पादन तथा व्यवसायमा संलग्नहरुले घाटा साथै नोक्सानी खेप्नुपर्ने अवस्थाको अन्त्यका लागि उचित बजार प्रवन्ध र स्थिर मूल्य कायम हुन आवश्यक रहेको सरोकारवालाले औंल्याएका हुन् । ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले जिल्लाको प्रमुख निर्यातजन्य वस्तु अलैँची भएको र अलैँचीको बजार प्रवन्ध तथा स्थिर मूल्य कायम भएमा मात्र सबैलाई फाइदा हुने बताउनुभयो ।
नगदेबाली अलैँचीसहित ताप्लेजुङमा उत्पादन हुने निर्यातजन्य वस्तुको बजार प्रवन्ध र आकर्षक तथा स्थिर मूल्यका लागि सम्बन्धित निकायले पहल गरिदिनुपर्ने अध्यक्ष गौतमले माग गर्नुभयो । बाणिज्य सङ्घका अध्यक्षसहित जिल्लामा विभिन्न क्षेत्रका व्यवसायी, किसान र लगानीकर्ता सरोकारवालाले निर्यातजन्य वस्तुको बजार प्रवन्ध तथा उचित र स्थिर मूल्य कायम हुनुपर्नेमा जोड दिएका छन् ।
यता अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले निर्यातजन्य वस्तुको बजार प्रवन्ध र उचित मूल्यका लागि पहल गरिने बताउनुभयो । स्थानीय किसान तथा व्यवसायीसहितका सरोकारवालाले उठाएको विषयका आधारमा आयोगका तर्फबाट पहल गर्ने र प्रदेश सरकारसमक्ष निर्यातजन्य वस्तुको बजार र मूल्यमा रहेको अवस्था अवगत गराउने उपाध्यक्ष निरौलाको भनाइ छ ।
कार्यक्रममा कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावनाका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले प्रस्तुति राख्नुभएको थियो । यस्तै जिल्लाको कृषि क्षेत्र, पशुपन्छी र घरेलु उद्योगको अवस्थाबारे कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख विजय श्रेष्ठ र निर्यातसँगै सम्बन्धित वनपैदावार, जडीबुडी र अन्य उद्योगको अवस्थाबारे डिभिजन वन कार्यालयका कार्यालय प्रमुख ललितकुमार यादवले प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा लगायतका जनप्रतिनिधिको सहभागिता रहेको थियो । त्यस्तै विभिन्न सरकार तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, स्थानीय व्यवसायी र किसानलगायत सहभागी भएका थिए । नेपाल उद्योग बाणिज्य महासंघ, कोशी प्रदेश समिति कार्यक्रमको सहआयोजकका रुपमा रहेको थियो ।