ताप्लेजुङको आठराई त्रिबेणीद्धारा पालिकाको स्वीकृति नलिई भवनका लागि जग्गाको प्लटिङ गर्न प्रतिबन्ध

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २१ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा पालिकाको स्वीकृति नलिई भवनका लागि जग्गाको खण्डीकरण वा प्लटिङ गर्न नपाइने भएको छ ।

स्वीकृत नलिई जग्गाको खण्डीकरण वा प्लटिङ गरेमा पालिकाको जग्गा बिक्रीबितरणको सिफारिस माथि रोक लगाउन सक्ने कार्यविधि बनाएको छ । भवन निर्माण तथा घरनक्सा नियमन कार्यविधि २०८१ जारी गर्दै पालिकाले नक्सा पास नगराई भवन निर्माण गर्न नहुने नियम सुरु गरेको हो । तर,पालिकाले तोकेको क्षेत्र र संरचनाको हकमा नक्सा पास नगराई पनि भवन निर्माण कार्यमा बाधा नपुग्ने भएको छ । पालिकाले भू–उपयोग क्षेत्रको सम्बेदनशिलताको आधारमा जग्गाको उपयोग तथा भवन निर्माण सम्वन्धी मापदण्ड समेत तयार पारेको जनाएको छ । बर्गिकृत क्षेत्रमा मात्र भवन निर्माण गर्न सकिने प्रावधान लागु गरिएको छ । कार्यविधि अनुसार कसैले पनि गाउँपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न प्रतिवन्ध गरिएको छ ।

गाउँपालिका क्षेत्रमा भवन निर्माण गर्न चाहने व्यक्ति वा सरकारी कार्यालयले भवन निर्माण गर्ने अनुमतिका लागि भवनको नक्सा र नक्सा कितावसहित कार्यालयमा दरखास्त दिनुपर्ने हुन्छ । गाउँपालिकाले प्रचलित कानुन र नेपाल सरकारले तोकेको मापदण्ड विपरित नहुने गरी ऐतिहासिक,साँस्कृतिक,पर्यटकिय वा पुरातात्विक दृष्टीले महत्वपूर्ण देखिएका कुनै बस्ति वा सोको कुनै क्षेत्रमा बन्ने भवनको उचाई,सेटब्याक,छानो,अग्रभाग,निर्माण सामग्रीका किसिम,रंग वा कला झल्किने गरी भवन निर्माणको मापदण्ड तोक्न सक्ने भएको छ । यस्तै निर्माण भईसकेका समेतको भवनको बर्गिकरण गरी भूकम्प वा विपद्का दृष्टीले जोखिमपूर्ण भवनलाई पुर्ननिर्माण गर्न,प्रवलीकरण गर्न वा भत्काउन समेत आदेश दिन सक्नेगरी कार्यविधि बनाएको छ ।

बन्ने घरमा अरुको जग्गातर्फ भेन्टीलेसन पर्ने अवस्थामा सम्वन्धित जग्गाधनीको लिखित मञ्जुरीनामा चाहिने भएको छ । मञ्जुरीनामा भएपनि अरुको जग्गातर्फ झ्याल राख्न भने बन्देज गरिएको छ । बरण्डा राख्नुपर्दा जग्गाको साँधबाट बरण्डाको छेउसम्म कम्तिमा एकमिटर जग्गा छाड्नुपर्ने नियम बनाईएको छ । शौचालय,सेफ्टी ट्याङ्की र सोक पिट जग्गाको सिनामाबाट कम्तिमा तीनफिट पर हुनुपर्ने छ । बाटोतर्फको खुल्ला भागमा भने यि संरचना बनाउन प्रतिवन्ध गरिएको छ ।

घर बनाउनेले छानाबाट आउने बर्षाको पानी तपकिन छानादेखि जमिनको मूल पाइप वा ढल सम्म पाइपद्धारा आफ्नै जग्गाबाट अनिवार्य व्यवस्थापन गर्नुपर्ने नियम बनाईएको छ । सार्वजनिक बाटो,चोक वा सेटब्याक क्षेत्रभित्र कुनैपनि सिढींहरु निर्माण गर्न नदिने नियम पालिकाले बनाएको छ । भवन निर्माणमा पालिकामा दर्ता भएका र भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धी आधारभूत तालिमप्राप्त कालिगढ,मिस्त्री वा ठेकेदार प्रयोग गर्नुपर्ने नियम पालिकाले बनाएको छ ।

Similar Posts