पत्रकार महासंघ ताप्लेजुङका झण्डै ५२ प्रतिशत सदस्यको सदस्यता कटौतिमा पर्ने,मानार्थ सदस्यताका लागि ५ जना सिफारिस

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ३१ । नेपाल पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरण अभियान अन्र्तगत ताप्लेजुङ शाखामा आवद्ध ५२ प्रतिशत बढीको सदस्यता कटौतिमा पर्ने भएको छ ।

पत्रकार महासंघ ताप्लेजुङले चरणबद्ध रुपमा चलाएको अभियानमा शाखामा रहेका ६१ मध्ये २९ जनाको मात्र सदस्यता नविकरणको प्रकृयामा जाने भएको छ । शुद्धिकरण प्रकृयाबाट ३२ जनाको सदस्यता कटौतिमा पर्ने भएको छ । महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमका अनुसार नयाँ सदस्यताका लागि परेका ११ आबेदनमध्ये ५ जनालाई नयाँ सदस्यताका लागि सिफारिस गर्ने निर्णय भएको छ भने एकजनाको सदस्यता स्थानान्तरणपछि ताप्लेजुङ शाखामा आवद्ध गर्न स्वीकृति प्रदान गरिएको छ । शुद्धिकरणबाट नविकरण प्रकृयामा लैजान निर्णय गरिएका,नयाँ सदस्यताका लागि सिफारिस भएका र स्थानान्तरण पछि ताप्लेजुङ शाखामा आवद्ध हुने सहितको प्रकृयालाई पत्रकार महासंघका प्रदेश र केन्द्रीय समितिले अनुमोदन गरेमा ताप्लेजुङमा अब पत्रकार महासंघका सदस्यको संख्या ३५ जना हुने देखिएको छ ।

यसअघि गत अधिबेशनमा ६३ जना सदस्य रहेकामा दुईजना सदस्य जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सदस्यको संख्या ६१ मा झरेको थियो । महासंघले चलाएको सदस्यता शुद्धिकरणबाट उक्त संख्या २९ मा झरेको हो । महासंघका ताप्लेजुङ सचिव सुवास आचार्यका अनुसार शुद्धिकरण अभियान अन्र्तगत कार्य समितिका वर्तमान उपाध्यक्ष कमलप्रसाद भट्टराई सहित तीनजना पूर्व अध्यक्षको सदस्यता समेत शुद्धिकरणबाट कटौतिमा पर्ने भएको छ । संस्थापक सभापति मनमणि काफ्ले,दोस्रो कार्यकालका अध्यक्ष किशोरकुमार राई र चौथो कार्यकालका अध्यक्ष ताराप्रसाद सिटौला समेतको सदस्यता कटौतिमा पर्ने भएको छ । बर्तमान कार्य समिति उपाध्यक्ष भट्टराई सहित पूर्व अध्यक्षहरु काफ्ले,राई र सिटौला सहित ११ जनाले शुद्धिकरण अभियानलाई सघाउँदै सदस्यता स्वेच्छिक त्यागको घोषणा गर्नु भएको थियो । महासंघले यहाँ क्रियाशिल पत्रकारका पेशागत संघसंगठनका प्रतिनिधिलाई शुद्धिकरण अभियानका क्रममा परार्मश लिएको जनाएको छ ।

महासंघले ५ जनालाई पत्रकार महासंघको मानार्थ सदस्यताका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने भएको छ । मानार्थ सदस्यता प्राप्तिका लागि महासंघले मापदण्ड बनाएको थियो । शाखाका पूर्व अध्यक्षहरु,संस्थापक कार्य समितिका पदाधिकारीहरु र वर्तमान कार्य समितिका पदाधिकारीहरुले शुद्धिकरण मापदण्ड अनुसार सदस्यताको त्यागको स्वघोषणा गरेमा मानार्थ सदस्यका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने मापदण्ड बनाएको थियो । सोहि अनुसार पूर्व अध्यक्षहरु काफ्ले,राई र सिटौला,बर्तमान कार्य समिति उपाध्यक्ष भट्टराई र संस्थापक कार्य समितिका उपसभापति धर्मप्रसाद पौडेललाई पत्रकार महासंघको मानार्थ सदस्यताका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय भएको पत्रकार महासंघ ताप्लेजुङले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts