ताप्लेजुङमा सामुदायिक बिद्यालयका बिद्यार्थीको दुई–दुई हजार सेट पुस्तक आइपुग्यो,बुधवारबाट बिक्री सुरु गरिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २७ । ताप्लेजुङमा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको पुस्तकको बिक्री चैत २९ गते बुधवारबाट थालिने भएको छ ।
फुङलिङ बजारका पुस्तक तथा स्टेशनरी व्यवसायीले लामो समय देखि सामुदायिक बिद्यालयको पुस्तक संयुक्त रुपमा बिक्रीमार्फत बिक्री गर्दै आएका छन् । बिक्री केन्द्रको संयोजन पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले गर्दै आईरहेको छ । महासंघका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रले चैत २९ गते बुधवारबाट सामुदायिक बिद्यालयहरुको पुस्तकको बिक्री सुरु हुने जानकारी दिनुभयो ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका जिल्ला उपाध्यक्ष केशवप्रसाद भट्टराईका अनुसार अहिले अनुसार कक्षा १ देखि १० सम्मका बिद्यार्थीका लागि प्रत्येक बिषयको दुई–दुई हजार सेटका दरले पुस्तक आएको छ । सबै भण्डारण गरेर राखिएको र आवश्यकता अनुसार थप पुस्तक समेत माग गरी ल्याउने तयारी भएको भट्टराईले सुनाउनुभयो ।
महासंघका अध्यक्ष मिश्रका अनुसार कक्षा १ को सबै सेटको मूल्य ५ सय २० रुपैयाँ ८० पैसा,यस्तै कक्षा २ को ५ सय ५६ रुपैयाँ ८० पैसा,कक्षा ३ को ५ सय ८० रुपैयाँ ८० पैसा,कक्षा ४ को ६ सय ४ रुपैयाँ,कक्षा ५ को ६ सय ४० रुपैंया २० पैसा,कक्षा ६ को ६ सय १३ रुपैयाँ,कक्षा ७ को ७ सय ५३ रुपैयाँ र कक्षा ८ को ८ सय ८८ रुपैंया निर्धारण गरिएको छ ।
ऐच्छिक बिषय बाहेक कक्षा ९ को ७ सय ७७ रुपैयाँ र कक्षा १० को ९ सय २० रुपैयाँ कायम गरिएको मिश्रले जानकारी दिनुभयो । ऐच्छिक बिषय अन्र्तगत कक्षा ९ को कार्यालय सञ्चालन तथा लेखा बिषयको ५२ रुपैयाँ र कक्षा १० को ६५ रुपैयाँ निर्धारण गरिएको छ । यस्तै शिक्षा बिषयको कक्षा ९ को पुस्तकको मूल्य ५८ र कक्षा १० को ६८ रुपैयाँ निर्धारण भएको छ ।
कक्षा ९ को ऐच्छिक अर्थसास्त्रको ७१ रुपैयाँ मूल्य कायम हुँदा कक्षा १० को ७३ रुपैंया,यस्तै कम्युटर विज्ञानको कक्षा ९ को ८५ रुपैयाँ तथा कक्षा १० को ८६ रुपैयाँ,इतिहाँसको कक्षा ९ को ८२ रुपैयाँ र कक्षा १० को ६३ रुपैयाँ निर्धारण भएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ । कक्षा ९ को ऐच्छिक गणितको ९९ रुपैयाँ र कक्षा १० को १ सय ११ रुपैयाँ पर्छ भने भूगोलको कक्षा ९ को ८६ रुपैयाँ र १० को ८८ रुपैयाँ पर्ने भएको छ ।
यस्तै कक्षा ९ को स्वास्थ्य शारीरिकको ७८ रुपैयाँ र कक्षा १० को ८१ रुपैयाँ पर्दा कक्षा ९ को वातावरण विज्ञानको ६६ रुपैयाँ तथा कक्षा १० को ६३ रुपैयाँ पर्छ । कक्षा ९ को ऐच्छिक अंग्रेजीको ८६ रुपैयाँ मूल्य हुँदा सोहि बिषयको कक्षा १० को पुस्तकको मूल्य १ सय २ रुपैयाँ रहेको छ ।
कक्षा ९ को नागरिक शास्त्रको ५० रुपैयाँ पर्दा कक्षा १० को पुस्तकका लागि ५९ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । कक्षा १० को समाजशास्त्र पुस्तकको मूल्य भने ६० रुपैयाँ निर्धारण गरिएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङले जनाएको छ ।