मेवा डेभलपर्स लिमिटेडद्धारा सेवा क्षेत्रका नागरिकलाई खाद्य सुरक्षा तथा व्यक्तिगत सरसफाइ सचेतना कार्यक्रम सम्पन्न
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २९ । ऊर्जा डेभलपर्स प्रालिको सहायक कम्पनी मेवा डेभलपर्स लिमिटेडले सेवा क्षेत्रका करिव तीनसय नागरिकहरुलाई खाद्य सुरक्षा तथा व्यक्तिगत सरसफाइ सम्बन्धि आधारभूत सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय समुदाय,विद्यालय परिवार,व्यवसायी तथा आयोजनाका कर्मचारीहरूलाई लक्षित गर्दै खाद्य स्वच्छता र व्यक्तिगत सरसफाइबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरेको आयोजनाका वातावरण तथा सामाजिक सुरक्षण व्यवस्थापक कुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको प्रभावित क्षेत्रमा एकसाता लामो सचेतनामुलक अभियान सञ्चालन गरिएको हो । नेपाल सरकारका खाद्य निरीक्षण अधिकारी प्रदीप संग्रौलाको नेतृत्वमा सञ्चालित सचेतनामुलक कार्यक्रममा खाद्य स्वच्छता का ५ सूत्रहरु क्रमश र यसका सिद्धान्तहरु खाद्यजन्य रोगबाट बच्ने उपाय,सुरक्षित खाना भण्डारण तथा तयारीका विधि,हात धुने सही तरिका लगायतका विषयमा विस्तृत जानकारी गराईएको अर्यालले जानकारी दिनुभयो ।
अभियानले खाद्य तयारी, भण्डारण तथा वितरणमा सुरक्षित र स्वच्छ अभ्यासहरू सुनिश्चित गर्नुका साथै व्यक्तिगत सरसफाइका विधिहरू अवलम्बन गर्न प्रेरित गर्ने सहजकर्ता संग्रौलाको भनाई रहेको छ । अभियानपछि हात धुने बानी,सुरक्षित खानेकुरा छनोट,सन्तुलित आहारको अभ्यास,बिग्रिएको तथा म्याद गुज्रिएका खाना नखान सावधानी तथा व्यक्तिगत सरसफाइप्रतिको चेतनामा बृद्धि हुने मेवा डेभलपर्स लिमिटेडका परियोजना व्यवस्थापक सुनिल रेग्मीले अपेक्षा व्यक्त गर्नु भएको छ । अभियानमार्फत भान्छा तथा आसपासको वातावरणलाई थप सुरक्षित बनाउँदै खाद्यजन्य रोगको जोखिम घटाउने र व्यक्तिगत तथा संस्थागत भान्छा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने रेग्मीको भनाई छ ।
अभियानका क्रममा आर्जन भएको ज्ञानलाई उपयोग गरेमा स्वास्थ्यप्रति सकारात्मक प्रवाह सिर्जना हुने र खाद्य स्वच्छता र व्यक्तिगत सरसफाइमा सुधार भई खाद्यजन्य रोगको जोखिम घट्ने भएकोले समग्र स्वास्थ्यमा सुधार देखिने अपेक्षा आयोजकले गरेका छन् । ताप्लेजुङ जिल्लाको मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा मध्यमेवा(७३.५मेगावाट) तथा सिवाखोला(९.३ मेगावाट)जलविद्युत आयोजनाकातर्फबाट ग्रीन ईन्भारोमेन्ट रिसर्च सेन्टर प्रालिको परामर्श सहयोगमा उक्त अभियान सञ्चालन गरिएको हो । ऊर्जा डेभलपर्सको अर्को सहायक कम्पनी ऊर्जा इएसजी प्रालिमार्फत आयोजनाको प्रभावित पालिकाहरु मेरिङदेन र मिक्वाखोलाका बिद्यालयहरुमा सचेतनामुलक अभियान समेत सञ्चालन भएका छन् ।