शान्ति आविका जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीले पाए नगद सहित शैक्षिक सामग्री
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ५ । हर्कमान–दिलमाया शंकर स्मृति प्रतिष्ठान र बिद्यालयको सहकार्यमा ताप्लेजुङको फुङलिङस्थित शान्ति आधारभूत बिद्यालयका बिद्यार्थीलाई नगद तथा शैक्षिक सामग्री बितरण गरिएको छ ।
प्रतिष्ठानले बिद्यालयमा स्थापना गरेको अक्षयकोषको रकम र बिद्यालयको आन्तरिक स्रोत समेत परिचालन गरेर शनिवार बिद्यार्थीलाई जेहेन्दार बिद्यार्थीलाई नगद तथा उत्कृष्ट बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको बिद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार एक छात्र र एक छात्रा गरी दुईजनालाई जनही नगद ६ सय रुपैयाँका साथ शैक्षिक सामग्री प्रदान गरिएको छ । यसैगरी प्रत्येक कक्षाका प्रथम,द्धितीय र तृतीयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । आफ्ना स्वर्गीय बुबा हर्कमान,आमा दिलमाया र श्रीमति दिलमायाको स्मृतिमा छोरा गंगाराम शंकर र उहाँको परिवारले बिद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ ।
२०७७ सालमा स्थापना भएको अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकममा बिद्यालय समेतले थप गरी शैक्षिक सामग्री तथा नगद पुरस्कार बितरण गरिएको बिद्यालयले जनाएको छ । फुङलिङ नगर कार्यपालिका सदस्य समेत रहनु भएका गंगारामले श्रीमति दिलमायाको मृत्युपछि स्वर्गीय बुबा,आमा र श्रीमतिको स्मृतिमा बिद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको छ । सातौं स्मृति दिवसको दिन पारेर बिद्यार्थीलाई नगद तथा शैक्षिक सामग्री प्रदान गरिएको अक्षयकोषका संस्थापक गंगारामले जानकारी दिनुभयो । फुङलिङ नगरपालिकाका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष मोहन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर एङदेन सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।