| |

फुङ्लिङ बजारमा मासु माछा पसलको अनुगमन

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २६ । दसैँ चाड सुरु भएसँगै ताप्लेजुङमा मासु र माछा पसलको अनुगमन गरिएको छ । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले सदरमुकाम फुङ्लिङमा मासु माछा पसलको अनुगमन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको नेतृत्वमा फुङ्लिङ बजारका मासु माछा पसलहरु अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही मापदण्ड विपरीत रहेको मासु माछा पसललाई तत्काल सुधार र व्यवस्थित गर्न सुझाव दिइएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
स्वच्छ र गुणस्तरीय खाद्यवस्तु अर्थात मासु माछा उपभोक्ताले उपभोग गर्न पाउन् भन्ने उद्देश्यसहित अनुगमन गरिएको पनि सहायक प्रजिअ भट्टराईले बताउनुभयो । केही खुला ठाउँमा राखेर मासु माछा बिक्री गर्ने गरिएको र मासु माछासँगै अन्य सामानहरु पनि राखेर बिक्री गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।
त्यस्ता मापदण्ड विपरीतका मासु माछा पसललाई तत्काल व्यवस्थित गर्न सचेत गराउँदै सुधार र व्यवस्थित नगरेमा कारबाही हुने चेतावनी अनुगमन समितिले दिएको छ । यता केही पसलमा बिक्री गर्न राखिएको माछाको सामान्य परीक्षणसमेत गरिएको उपभोग गर्न लायक नै भेटिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा. रोशन दाहालले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईका अनुसार फुङ्लिङ बजारका दर्जन बढी मासु माछा पसलको अनुगमन गरिएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयोजनमा गरिएको संयुक्त बजार अनुगमनमा फुङ्लिङ नगरपालिकासमेत सम्मिलित रहेको थियो ।

Similar Posts