अनावश्यक भण्डारण,कृत्तिम अभाव सृजना नगरी व्यवसायिक मापदण्ड पालना गर्न ताप्लेजुङ प्रशासनको आग्रह
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २६ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अत्यावश्यक बस्तुको कृत्तिम अभाव सृजना गर्ने,मूल्य बृद्धि गर्ने र सामानहरुको अनावश्यक भण्डारण गर्ने कार्य नगर्न सम्वन्धित सबैलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले सोमवार एक विज्ञप्ति जारी गरी यस सम्वन्धमा केहि गुनासाहरु समेत आएकोले यस्ता कार्य नगर्न नगराउन सम्वन्धित सबैलाई आग्रह गर्नु भएको हो । प्रमुख जिल्ला अधिकारी दाहालले सबै उद्योगी व्यवसायी र आपूर्तिकर्ताहरुले बिभिन्न बहानामा अत्यावश्यक बस्तुहरुको कृतिम अभाव सृजना गर्ने,मूल्य बृद्धि गर्ने,सामानहरु अनावश्यक भण्डारण गर्ने,कार्टेलिङ गर्ने,गुणस्तरहिन बस्तु बिक्री बितरण गर्ने गरेको जस्ता गुनासो आएको भन्दै यस्ता कार्य नगर्न नगराउन सबैलाई आग्रह गर्नु भएको हो ।
प्रशासन कार्यालयले कुनैपनि व्यवसायमा पर्ने असुविधा र असुरक्षा बारे समयमै जानकारी गराउन समेत आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दाहालले बजारमा स्वच्छव प्रतिश्पर्धा र उपभोक्ता हकहित संरक्षणका लागि नियमित आपूर्ति तथा बिक्री बितरण हुने नियमित व्यवस्था मिलाउन,मूल्य सूची टाँस गरी व्यवसाय सञ्चालन गर्न,बिल बिजक अनिवार्य गर्न,गुणस्तरीय र उपभोग्य बस्तु मात्र बिक्री बितरण गर्न सम्वन्ध सबै
उद्योगी,आयातकर्ता,थोक तथा खुद्रा व्यवसायीहरुलाई अनुरोध समेत गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालयले बडादशैं,शुभ दीपावली,नेपाल सम्वत्,छैट पर्व,उद्यौली सहितका पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना समेत दिएको छ ।