घटस्थापनाको दिन एकहजार भक्तजनले गरे पाथीभरा दर्शन
-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २५ । दसैँको नवरात्र सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको भीड लाग्न थालेको छ । नवरात्र प्रारम्भ भएसँगै पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) सुरु भएकाले भक्तजनको भीड लाग्ने थालेको हो ।
नवरात्रको पहिलो दिन अर्थात घस्थापनाको दिन आइतबार करिव एक हजार भक्तजनले पाथीभराको दर्शन गरेका छन् । आइतबार कुल ९९६ जना भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका कर्मचारी राजेन्द्र महतले घटस्थापनाको दिन बिहानैदेखि पाथीभरामा भक्तजनको भीड लागेको जानकारी दिनुभयो । भक्तजनको भीड बढेपछि उनीहरुले लाइनमा बसेर पाथीभराको दर्शन गरेका महतले जानकारी दिनुभयो । पाथीभराको सहज दर्शनका लागि भक्तजानलाई लाइनमा बस्ने प्रवन्ध मिलाइएको पनि उहाँले बताउनुभयो ।
नेपालका विभिन्न जिल्लाबाट भक्तजनहरु पाथीभरा दर्शन गर्न आएका छन् भने नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पनि भक्तजन आएका छन् । यता पाथीभरा दर्शनका लागि भक्तजनको आउजाउ सुरु भएसँगै पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी लगायतका स्थानमा भीडभाड बढेको पनि समितिका कार्मचारी महतले जानकारी दिनुभयो ।
यस्तै सदरमुकाम फुङ्लिङ बजारमा समेत भक्तजनका कारण मानिसको चहलपहल बढ्न थालेको छ । त्यस्तै फुङ्लिङ बजार हुँदै काफ्लेपाटीसम्मको पाथीभरा सडकमा सवारी चाप पनि बढ्न थालेको पाइएको छ ।
दर्शन गर्ने मुख्य सिजन सुरु हुनुभन्दा अघि पनि पाथीभरामा भक्तजनको उपस्थिति निरन्तर रहेको छ । असोज महिनायता आइतबार सम्ममा छ हजार २३ जना भक्तजन पाथीभरा दर्शन गर्न आएको समितिको तथ्याङ्क रहेको छ ।