उस्सी दिदीलाई मायाको चिनो ‘सिलाम साक्मा’
-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २५ । ताप्लेजुङको भ्रमणमा रहनुभएकी जर्मनी नागरिक उस्सीलाई जिल्लावासीले स्वागत तथा सम्मान गरिरहेका छन् । स्वास्थ्य क्षेत्रका लागि अतुलनीय सहयोग पु¥याउनुभएकी उस्सीलाई ताप्लेजुङको भ्रमणका क्रममा जिल्लावासीले स्वागत साथै सम्मान गरिरहेका हुन् ।
हाल ताप्लेजुङको भ्रमण गरी रहनुभएकी जर्मन नागरिक उस्सीलाई जिल्लावासीले ‘उस्सी दिदी’ का नामले चिन्ने गरेका छन् । उहाँ भ्रमणका क्रममा जिल्लाको विभिन्न स्थानमा पुग्दै आउनुभएको र पुगेको ठाउँमा उहाँलाई भव्य स्वागत तथा सम्मान गरिँदै आएको छ ।
सदरमुकाम फुङ्लिङ बजारसहित यहाँका विभिन्न क्षेत्रका नागरिकले उहाँलाई सम्मान गरिरहेका छन् । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवा पुग्नुभएकी उस्सीलाई स्थानीय नागरिकले स्वागत तथा सम्मान गर्दै मायाको चिनोको रुपमा सिलाम साक्मा दिएका छन् । सिँवा स्वास्थ्य चौकीको भ्रमण तथा निरीक्षणमा पुग्नुभएकी उहाँलाई स्थानीयले लिम्बू संस्कृति र पहिचानसँग जोडिएको ‘सिलाम साक्मा’ मायाको चिनो दिएका हुन् ।
यसअघि सिँवा स्वास्थ्य चौकीलाई उस्सी दिदीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनुभएको र सो सामग्री निरीक्षणसहित स्वास्थ्य चौकीको भ्रमण गर्न उहाँ सिँवा पुग्नुभएको ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाइँले जानकारी दिनुभयो । प्रसाइँका अनुसार उस्सीले मेडिकल पेनलाइट, पोर्टेवल अक्सिजन कन्सेनट्रेटर, ग्लुकोमेटर, पल्स अक्सिमेटरसहित विभिन्न १३ किसिमका स्वास्थ्य उपकरण सिँवा स्वास्थ्य चौकीलाई निःशुल्क प्रदान गर्नुभएको थियो ।
यस्तै उस्सीले ताप्लेजुङ जिल्ला अस्पताल भवनको प्रवलीकरण लगायतका कार्य गर्न करोडौं रुपियाँ अनुदान सहयोग गर्नुभएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले सञ्चालन गरेको डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको नयाँ पक्की भवन पनि उस्सीले बनाई दिनुभएको छ ।
नेपाल भ्रमणमा आउनुभएकी उस्सीले उहाँको आर्थिक सहयोगमा निर्माण गरिएको संरचना र स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको निरीक्षण र अनुगमन गरिरहनुभएको मञ्चका अध्यक्ष प्रसाइँले जानकारी दिनुभयो । भ्रमणका क्रममा जिल्ला अस्पताल परिवार, नेपाल नेत्रज्योति संघसहित उहाँ पुग्नुभएको कार्यालय तथा निकायहरुमा उस्सीलाई सम्मान गरिएको बताइएको छ ।