ताप्लेजुङमा आजदेखि खाद्यले दाल बिक्री गर्ने
-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २६ । ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज सोमबारदेखि दाल पनि बिक्री गर्ने भएको छ । खाद्यले शाखा स्थापना भएको करिव साढे चार दशकपछि ताप्लेजुङमा पहिलोपटक मसुरो दाल बिक्री गर्न लागेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका प्रमुख प्रकाश तिम्सिनाका अनुसार सोमबार आजदेखि मसुरो दाल बिक्री गर्न सुरु हुने छ । जिल्लावासी नागरिकको मागलाई दृष्टिगत गर्दै दाल बिक्री गर्न लागेको शाखा प्रमुख तिम्सिनाले जानकारी दिनुभयो ।
जिल्लामा मसुरो दाल आइपुगेकाले सोमबारदेखि बिक्री गर्न लागेको तिम्सिानाले बताउनुभयो । उहाँका अनुसार प्रतिकिलोग्राम १४५ रुपियाँ मूल्यमा दाल बिक्री गर्न लागिएको छ । ताप्लेजुङमा खाद्यको शाखा स्थापना भएपछि पहिलोपटक दाल बिक्री गर्न लागिएको हो ।
यसअघि गत असोज १४ गतेदेखि खाद्य कम्पनीले यहाँ चिनी पनि बिक्री गर्दै आएको छ । जिल्लामा खाद्यको शाखा स्थापनापछि चिनी पनि पहिलोपटक बिक्री गर्न सुरु भएको हो । खाद्य कम्पनीले चिनी प्रतिकिलोग्राम ११० रुपियाँले बिक्री गर्दै आएको छ । हालसम्म खाद्यले यहाँ चामल मात्र बिक्री गर्दै आएको थियो ।
यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ताप्लेजुङमा चामलसँगै दाल र चिनीसमेत बिक्री गर्न सुरु गरेपछि सर्वसाधारण उपभोक्तालाई राहत मिलेको छ । दसैँ चाड सुरु भएकै समयमा खाद्यले चामलपछि चिनी र दाल बिक्री गर्न थालकाले यहाँका नागरिकले थप राहतको महशुस गरेका छन् ।
हाल खुला बजारमा चिनीको मूल्य प्रतिकिलोग्राम १२५ देखि १४० रुपियाँसम्म रहेको छ भने मसुरो दाल १६० देखि १७० रुपियाँसम्ममा कारोबार हुने गरेको छ । खाद्य कम्पनीले अब छिटै खाने तेलसमेत बिक्री गर्ने योजना बनाइरहेको शाखा प्रमुख तिम्सिनाले जानकारी दिनुभयो ।