पत्रकार अधिकारी ३३ हजार ३३३ रुपैयाँसहित सम्मानित

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उज्लायो पोष्ट दैनिकका सम्पादक पत्रकार खगेन्द्र अधिकारीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । स्थानीय तहको आठौं स्थापना दिवसको अवसरमा मंगलबार गाउँपालिकाले ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कारसहित पत्रकार अधिकारीलाई सम्मान गरेको हो ।
गाउँपालिकाले पत्रकार अधिकारीसहित कार्य सम्पादनमा जिम्मेवार र जवाफदेही बन्ने एक सर्बोत्कृष्ट कर्मचारी, तीन उत्कृष्ट कर्मचारी र चार उत्कृष्ट कृषकलाई पुरस्कृत एवम् सम्मानित गरेको हो । गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार सार्वजनिक सेवा प्रवाहलाई पत्रकारितामार्फत उल्लेख्य भूमिका खेलेकोभन्दै अधिकारीलाई पुरस्कृत गरिएको छ ।
वि.सं २०५६ सालदेखि विराटनगरबाट पत्रकारिता सुरु गरेका अधिकारी २०५८ सालदेखि ताप्लेजुङमा रहेर पेसेवर र व्यवसायिक पत्रकारको रुपमा क्रियाशील हुनुहुन्छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्षसमेत रहनुभएका अधिकारी उज्यालो पोष्टका सम्पादक साथै नागरिक दैनिकका ताप्लेजुङ सम्वादाताका रुपमा कार्यरत रहनुभएको छ ।
पत्रकार अधिकारीले स्थानीय तहले कार्य सम्पादन गरेका गतिविधि, बनाएका योजना तथा कार्यक्रम, देखिएका समस्या, सेवाग्राहीको माग, स्थानीय तहले निर्माण गरेका ऐन, नियम र कार्यविधि समेतका बिषयलाई समेत स्रोत बनाएर रिपोर्टिङ गर्नुहुन्छ । स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका आधारमा कार्यपालिकाले निर्णय गरेबमोजिम पत्रकार अधिकारीलाई पुरस्कृत गरिएको पालिका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।
यस्तै सर्वोत्कृष्ट कर्मचारीतर्फ गाउँपालिकाका रोजगार संयोजक इक्साहाङ सुब्बा २० हजार रुपैयाँसहित पुरस्कृत हुनुभएको छ । उत्कृष्ट कर्मचारीतर्फ शिक्षा शाखाका प्राविधिक अर्जुन श्रेष्ठ, बरिष्ठ अनमी बसन्ता साँवा र वडा ३ तिरिङ्गेका कार्यालय सहयोगी लक्ष्मीप्रसाद डाँगी जनही नगद १३ हजार ३३३ रुपैयाँ नगदसहित पुरस्कृत हुनुभएको छ ।
यसैगरी उत्कृष्ठ कृषकतर्फ पाथीभरा याङ्वरक–१ नाङ्खोल्याङका प्रकाश राई, वडा २ थेचम्बुका लक्ष्मी कटुवाल तथा वडा ३ तिरिङ्गेका राजकुमार इजम र पदमजंग लिम्बू जनही ५० हजार रुपैयाँ नगदसहित पुरस्कृत हुनुभएको छ । पुरस्कृत एवम् सम्मानित हुनेलाई गाउँपालिका अध्यक्ष सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले पुरस्कार राशि र सम्मानपत्र वितरण गर्नु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष सुब्बाले जनमैत्री सेवा प्रवाहले स्थानीय सरकारको प्रभाकारितामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । किसानलाई ब्यवसायमुखी बनाउन तथा अर्गानिक खेती प्रणाली र कृषक पेशालाई संस्थागत र आत्मनिर्भर बनाउने कुरामा सहयोग गर्न यस्ता सम्मानले थोरै भए पनि टेवा पुग्ने विश्वास आफूले लिएको उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष गुरुङले सम्मान तथा पुरस्कारको मर्मलाई आत्मसाथ गर्दै स्थानीय सरकारको सेवा प्रवाह थप प्रभावकारी बनाउन पुरस्कृत व्यक्तित्वले आगामी दिनमासमेत सक्रिय भूमिका निर्वाह हुनेमा आफू विश्वास्त रहेको बताउनुभयो । २०७३ साल फागुन २७ गते स्थानीय तह स्थापना भएका हुन् । स्थानीय तहले हरेक वर्षको फागुन २७ लाई स्थापना दिवसको रुपमा मनाउने गर्छन् ।