पाथीभरा देवी दर्शन केवलकार प्रालिले दोभान बजारका अग्नि पीडितलाई दियो ५ लाख रुपैयाँ राहत

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १४ । ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई पाथीभरा देवी दर्शन केवलकार प्रालिले ५ लाख रुपैयाँ राहत सहयोग प्रदान गरेको छ ।

मेरिङदेन गाउँपालिकाको विपद् व्यवस्थापन शाखाका अनुसार प्रालिले क्षतिका आधारमा पीडित परिवारलाई ५ लाख रुपैयाँ राहत सहयोग प्रदान गरेको हो । प्रालिले अग्नि पीडित चन्द्रप्रसाद पौडेल र घनश्याम खरेललाई समान ५० हजार रुपैयाँका दरले राहत सहयोग प्रदान गरेको छ ।

अग्नि पीडित लाक्पाचुङ शेर्पा,राजेन्द्र पौडेल,यामबहादुर आङवुहाङ,आङ्निमा शेर्पा,भीम लङ्वा,सुखवीर लिम्बू,काशीनाथ चुँडाल,श्याम चोङवाङ,आरती चोङवाङलाई जनही ३६ हजार ११० रुपैयाँका दरले राहत रकम प्रदान गरिएको कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

अग्नि पीडित सुनिता चोङवाङ,अनिसा बराईली,अनुष्का आङवुहाङ,योगेन शेर्पा र लाक्पा शेर्पालाई समान १५ हजार रुपैयाँका दरले राहत रकम बितरण गरिएको पाथीभरा देवी दर्शन केवलकार प्रालिले जनाएको छ । असोज ८ गते दोभान बजारमा भएको आगलागीबाट ८ घरधनीका १० घर जलेका थिए भने १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन भएको छ ।

Similar Posts