पालुङ हाईड्रोमा काम गर्ने एक मजदुरको मृत्यु,हाईड्रोका प्रतिनिधि र मृतकका आफन्तबिच छलफल जारी
उज्यालो पोष्ट
ताप्लेजुङ असोज १३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा वडा नं ४ मा निमार्णाधिन पालुङ खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्य भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी)कमल बजगाइँका अनुसार मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका वडा नं ४ तेम्बाका २३ वर्षिय मन्दीप साँवा लिम्बू रहनु भएको छ।
बजगाइँका अनुसार ड्रिलिङको काम गर्ने क्रममा माथिबाट झरेको ढुड़गा लागी घाइते भएका उहाँको मृत्यु भएको हो । उहाँलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मन्दीपको शव ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । अहिले हाईड्रोका प्रतिनिधि र मन्दीपका आफन्त तथा स्थानीयबिच ताप्लेजुङ जिल्ला अस्पतालमा छलफल भइरहेको छ ।