ताप्लेजुङका पर्यटकीय स्थल र उत्पादनको प्रचार गर्दै फङ्फङदेन झरना पर्यटन समितिको टोली रारातालतर्फ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १४ । सूदूरपूर्वको ताप्लेजुङ जिल्लामा उत्पादन हुने नगदेवाली र मिक्वाखोलासहित जिल्लामा रहेका पर्यटकीय स्थललाई कर्णालीसम्म चिनाउने उद्धेश्यले फङ्फङदेन झरना पर्यटन विकास समितिको टोली रारातालतर्फ गएको छ ।

मुगु जिल्लामा रहेको रारा ताल नेपालको सबैभन्दा गहिरो र ठूलो प्राकृतिक शुद्ध पानीको प्रसिद्ध तालको रुपमा परिचित छ । प्रमुख उत्पादन र पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले फङ्फङदेन झरना पर्यटन विकास समितिले आउँदो मंसिर २ गते देखि ६ गतेसम्म तेस्रो फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेलाको आयोजना गरेको छ । मिक्वाखोला गाउँपालिकाको वडा नं ४ साँवास्थित फुङ्फुङ्गे झरनाको काख तेम्बामा आयोजना हुने उक्त मेलामा झरनाको सौन्दर्य प्रर्वद्धन,पुरुष फुटबल प्रतियोगिता,साँस्कृतिक कार्यक्रम,लघु उद्यम,कृषिजन्य उत्पादन तथा मौलिक र रैथाने संस्कृतिको प्रर्दशनीलाई आयोजकले मुख्य आर्कषणको रुपमा लिएको छ ।

तेस्रो फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेला आर्थिक समितिका संयोजक सुकबहादुर साँवा यहाँका प्रमुख नगदेवाली अलैंची,सुन्दर मनमोहक फुङ्फुङ्गे झरना र लोदेन क्षेत्रसहितका पर्यटकीय स्थल तथा कृषिजन्य उत्पादनको प्रचार र प्रर्वद्धनलाई कर्णालीसम्म पहुँच पु-याउन रारातालसम्मको भ्रमणमा गएको बताउँनुहुन्छ । भ्रमण टोलीले रारातालसम्म पुगी ताप्लेजुङ जिल्लाको पहिचान,महत्व,बिशेषता र यहाँका प्रमुख उत्पादन तथा पर्यटकीय स्थलको चिनारी दिने उद्देश्य लिएको साँवाले जानकारी दिनुभयो ।

पर्यटन तथा साँस्कृतिक मेला आयोजक समितिले अघिल्लो बर्ष झैं यसबर्षपनि पुरुष फुटबल प्रतियोगिताका बिजेतालाई नगदको सट्टा अलैंची पुरस्कार दिने छ । फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष समेत रहनु भएका मेला आयोजक समितिका संयोजक विजयप्रकाश साँवा लिम्बूका अनुसार पुरुष फुटबलतर्फ प्रथम हुनेलाई ३ लाख २ हजार ८३ रुपैयाँ र दोस्रो हुनेलाई १ लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैंची पुरस्कार स्वरुप प्रदान गरिने छ । ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको रुपमा परिचित रहेको छ । फुटबलका बिधागततर्फ उत्कृष्ट हुनेले समेत नगदको सट्टा अलैंची नै पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

अलैंचीको प्रर्वद्धन र उत्पादनको उचित बजारीकरणमा सघाउनका लागि आयोजकले यस्तो जुक्ति निकालेको अध्यक्ष साँवाले जानकारी दिनुभयो । अथितिलाई समेत अलैंची नै उपहार प्रदान गर्नेगरी आयोजकले व्यवस्थापन गर्ने साँवाको भनाई रहेको छ । करिव तीनसय मिटर अग्लो चट्टानबाट खस्ने फुङ्फुङ्गे झरना बाह्रैकाल अटुट रुपले पानी बहने नेपालका कमैमध्येको एक प्राकृतिक सौन्दर्य बोकेको क्षेत्र हो । पर्यटन बर्ष सन् २०२० मा नेपाल सरकारले पर्यटकीय सम्भावना बोकेका घुम्न लायक गन्तव्य छनौट गर्दा फुङ्फुङ्गे झरना समेत समेटिएको थियो । कुल १९ लाख ५० हजार १ सय १२ रुपैयाँ खर्च हुने अनुमान गरिएको खर्चलाई व्यहोर्ने स्रोतको रुपमा आयोजकले मिक्वाखोला गाउँपालिका,पालिकाको वडा नं ४,स्थानीय जलविद्युत आयोजना,निर्माण व्यवसायी,स्वदेश तथा बिदेशमा रहेका दाता,खेलको प्रवेश शुल्कसहितलाई मुख्य आधार मानेको छ ।

Similar Posts