ओलाङचुङगोला भन्सार कार्यालयमा कर्मचारी खटाईदिन जेन जी ताप्लेजुङद्धारा भन्सार विभागको ध्यानाकर्षण
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २३ । जेन जी ताप्लेजुङले १५ दिन भित्र फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा मूल भन्सार कार्यालयमा कर्मचारी खटाइदिन भन्सार विभागको ध्यानाकर्षण गरेको छ ।
जेन जी ताप्लेजुङकोतर्फबाट दिनेश सिग्देल र मुकेश कार्कीले भन्सार विभागको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा पुगेर ओलाङचुङगोलामा मूल भन्सार कार्यालयमा कर्मचारी खटाइदिन भन्सार विभागको ध्यानाकर्षण गनु भएको हो । अध्यक्ष गोपाल गुरागाँईद्धारा हस्ताक्षरित मागपत्रमा भन्सार कार्यालय स्थापना र कर्मचारी खटनपटन तथा मौवाटारमा सुख्खा बन्दरगाह निर्माणसहितका बिषयमा यसअघि पनि पटक–पटक माग पत्र पेश भएपनि उचित सम्बोधन हुन नसकेको उल्लेख गरिएको छ ।
फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले २०८१ साल चैत ११ गते भन्सार विभागका महानिर्देशक समक्ष तत्काल मूल भन्सार कार्यालय सञ्चालनका लागि मागपत्र पेश गर्नु भएको थियो । भन्सार विभागले वडाध्यक्ष लामाद्धारा पेश भएको पत्रमा ओलाङचुङगोला मूल भन्सार कार्यालयमा तत्कालै एक नायव सुब्बा र एक कार्यालय सहयोगी खटाउने तोक लगाएपनि कर्मचारी भने अहिलेसम्म पठाएको छैन ।