|

सिल गरिएको फुङ्लिङको प्राइम बैंक १६ गते सम्म नखुल्ने,तत्कालको त्रास भने हट्यो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १२ । कोरोना संक्रमित प्राइम बैंक ताप्लेजुङका एक कर्मचारी संगै कार्यालयमा काम गरेका तथा यात्रा गरेका सहित २८ जनाकै पीसीआर परीक्षण रिर्पोट नेगेटिभ आएपनि सिल गरिएको बैंकको सेवा १६ गते सम्म भने सञ्चालन नहुने भएको छ । संक्रमित बैंकका कर्मचारीसंगै काम गरेका बैंकका अन्य कर्मचारी,उहाँसंगै यात्रा गरेका यात्रु र सबैभन्दा बढी नजिकको सम्पर्कमा रहेका उहाँका साथीभाइ सहित २८ जनाकै पीसीआर रिर्पोट नेगेटिभ आएपनि थप सर्तकताका लागि बैंकको सेवा १६ गते सञ्चालन नहुने भएको हो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले कोरोना रिर्पोट नेगेटिभ आएकाहरुले पनि अझै केहिदिन होम आइसोलेसनको नियमलाई कडाइका साथ पालना गर्नुपर्ने भएकोले बैंकको सेवा तत्काल सुरु नहुने जानकारी दिनुभयो ।‘कम्तिमा संक्रमण थप बढ्न नदिन अपनाउनुपर्ने होम क्वारेन्टिनको सर्त र प्रकृयाका आधारमा रिर्पोट नेगेटिभ आएकाहरुलाई समेत प्रभावकारी ढंगले थप होम आइसोलेसनको आवश्यकता छ’उहाँले भन्नुभयो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य एवम् जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले यो प्रकृयाले कोरोना प्रभावित जिल्लाहरुबाट ताप्लेजुङ प्रबेश गरेका नागरिकलाई होम आइसोलेसनको प्रभावकारी कार्यान्वयनका लागि मार्गनिर्देशन समेत गर्ने बताउनुभयो । संक्रमित बैंकका कर्मचारीसंग नजिक रहेर काम गरेका सहकर्मी तथा संगै यात्रा गरेकाहरुको समेतको पीसीआर रिर्पोट नेगेटिभ आएपछि तत्कालका लागि समुदायस्तरमा संक्रमण पुग्ने त्रास भने हटेको छ । तर,अझै कम्तिमा ७–१० संक्रमितको सम्पर्कमा रहेकाहरुले होम क्वारेन्टिनमा बस्न,जथाभावी हिड्डुल नगर्न र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै मापदण्डको प्रभावकारी पालना गर्न कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले आग्रह गरेको छ । बढी संक्रमित भएको जिल्ला मोरङको बिराटनगर पुगी घरबाट फर्किएका बैंकका कर्मचारीलाई काम गर्दै गरेको केहिदिन पछि मात्र संक्रमण पुष्टी भएपछि संक्रमण समुदाय स्तरमा पुग्ने शंका गरिएको थियो । फुङ्लिङस्थित बाणिज्य संघको क्वारेन्टिनमा रहेका ६ जनाको पीसीआर रिर्पोट समेत नेगेटिभ आएपछि ताप्लेजुङको संस्थागत होम क्वारेन्टिन फेरी खाली भएको छ । केहिदिन अघि खाली भएको यो क्वारेन्टिनमा भारतसहित तेस्रो मुलुकबाट फर्किएका नागरिक सहित ६ जना रहेका थिए । अब आफु सुरक्षित रहन प्रत्येक व्यक्तिले आफु बाहेक सबैलाई संक्रमण जोखिमको रुपमा हेरेर अरुको सम्पर्कमा नजाने,मास्क,स्यानीटाइजर सहितका स्वास्थ्य र सफाइका सबै मापण्डको पालना गर्ने र होम क्वारेन्टिनको सर्तलाइ प्रभावकारी पालना गर्नु नै सबैभन्दा संक्रमणबाट बच्ने बलियो उपाय हुने कोरोना नियन्त्रण समितिले ठम्याएको छ । बैंकका कर्मचारी र ८० बर्षिय बृद्धासहित यहाँ भेटिएका २ जना कोरोना संक्रमित ताप्लेजुङ अस्पतालको आइसोलेसन कक्षमा सामान्य अवस्थामा रहेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts