ताप्लेजुङमा मनाइयो बालश्रम बिरुद्धको अन्तराष्ट्रिय दिवस
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २९ । बालश्रम बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा शुक्रवार ताप्लेजुङमा प्रभातफेरि तथा कोणसभा सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको समुदाय साझेदारी कार्यक्रम तथा लिटलबुद्ध ईङ्लिस बोर्डिङ स्कुलको सहभागितामा प्रभातफेरि सम्पन्न भएको हो । नगर परिक्रमा पछि वीरेन्द्रचौकमा आयोजित कोणसभामा बोल्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादवले बालबालिका भविष्यका कर्णधार भएकोले उनीहरुको संरक्षण र बाल अधिकार अनुरुपको व्यवहार जरुरी रहेको बताउनुभयो । १४ बर्ष उमेर पूरा नभई सामान्य श्रममा समेत लगाउन नपाइने तथा १८ बर्ष उमेर पूरा नभई गम्भिर प्रकृतिका श्रमका कार्यमा बालबालिकाको प्रयोग गर्न नहुने मान्यता रही आएको छ । कार्यक्रममा बोल्दै लिटलबुद्ध ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले बालबालिकाले बाल श्रम बिरुद्धका अभियानमा आफ्ना अभिभावकहरुलाई समुदायमा पैरवी गर्न सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्षद्धय खगेन्द्र अधिकारी र राजेन्द्र श्रेष्ठको समेतको उपस्थिति रहेको थियो ।
बाल मजदुर वा बाल श्रमको विरुद्ध विश्व दिवस” जुन १२ को दिन हरेक वर्ष आयोजना हुने गरेको छ । बाल श्रम विरुद्ध विश्वव्यापी आन्दोलनलाई बढुवा दिने उद्देश्य अनुसार यो दिवस मनाइने गरिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले बाल श्रमको विरुद्ध सन् २००२ देखि बाल श्रमको विरुद्धमा विश्वव्यापी रूपमा ध्यान केन्द्रित गर्दै र यसलाई पूर्ण रूपमा अन्त्य गर्न आवश्यक पर्ने कार्य र प्रयासमा ध्यान केन्द्रित गर्ने गरेको छ । प्रत्येक वर्ष १२ जुनको दिन, वश्व बाल श्रमको विरुद्ध दिवसको भेलाले सरकार,रोजगारदाता र मजदुर सङ्गठनहरू,नागरिक समाजका साथै विश्वका लाखौँ मानिसहरूलाई बाल मजदुरहरूको दुर्दशा उजागर गर्दै उनीहरूलाई कसरी मद्दत गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित रहँदै १२ जुन लाई विश्व बाल श्रमको विरुद्धको दिवस मनाउन थालिएको हो ।