फावाखोलाबाट सुरु भयो न्यायिक सचेतना कार्यक्रम
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २८ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगर क्षेत्रभर सञ्चालन गर्ने न्यायिक सचेतना कार्यक्रम बिहीबारबाट सुरु भएको छ ।
फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलाबाट न्यायिक सचेतना कार्यक्रम सुरु भएको हो । अधिवक्ता तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले न्यायिक सचेतना कार्यक्रमको सहजीकरण गर्नु भएको सहजीकरण संस्था कञ्चनजंघा रिसर्च एण्ड डेभलपमेन्ट प्रालिका कार्यक्रम संयोजक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । न्यायिक सचेतना कार्यक्रम अन्तरगत न्यायिक समितिले निरुपण गर्ने बिषय,लैगिक हिंसा बिरुद्धका अभियान,बालबिबाह,लैंगिकता र लैगिक विभेद तथा लैंगिक विभेद निरुपणका लागि सामाजिक भूमिकाकम बिषयमा समुदायका सदस्यलाई प्रष्ट पारिएको सहजकर्ता अधिवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधिहरु,राजनीतिक दलका प्रतिनिधिहरु,शिक्षक,टोल विकास संस्थाका अगुवा,मेलमिलापकर्ता,महिला स्वास्थ्य स्वयंसेविका,कर्मचारी,नागरिक समाजका अगुवा सहितको उपस्थिति रहेको थियो । न्यायिक सचेतना कार्यक्रम शुक्रवार फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा सञ्चालन हुने भएको छ । फुङलिङ नगरपालिकाको न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख भीमादेवी ओझाले न्यायिक समितिको क्षेत्राधिकार,मेलमिलापकर्ताको काम कर्तव्य र अधिकार,न्यायिक समितिले गर्दै आएको कार्य सम्पादन,बालबिबाह न्यूनीकरणका लागि समुदायका सदस्यको भूमिका सहितका बिषयमा समुदायका सदस्यलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।