एकपटकको असफलताले सुधार्दै लगेको मैवाखोलाको शैक्षिक चित्र : शैक्षिक नतिजामा देखिन थाल्यो सकारात्मक परिवर्तन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २९ । २०८० सालको कक्षा ८ को पालिका स्तरीय बार्षिक परीक्षामा ताप्लेजुङको मैवाखोला गाउँपालिकामा तीन प्रतिशत भन्दा कम बिद्यार्थी मात्र उर्तीण भए । २५ जनाले ग्रेडबृद्धि परीक्षा लेख्न पाउने मौका पाउँदा एकसय ४८ जनाले कक्षा ८ को पढाई दोहो-याउनुपर्ने भयो ।

बार्षिक परीक्षामा सहभागी एकसय ७८ मध्ये ५ जना मात्र बिद्यार्थी उर्तीण भएको सन्देश शैक्षिक क्षेत्रमा देशकै प्रमुख समाचारको रुपमा छायो । धेरैले पालिकाको शैक्षिक क्षेत्र धराशायी अवस्थामा पुगेको टिप्पणी पनि गरे । तर,गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष विजयप्रकाश वनेम भने आत्तिनु भएन,बरु चिन्ताजनक शैक्षिक नतिजा सुधार गर्ने अब्बल योजनाको खोजीमा अग्रसर हुन थाल्नुभयो ।‘म र हाम्रो जनप्रतिनिधिको टिम परीक्षाको नतिजामा देखिएको अस्वभाविकता चिर्नैपर्ने निश्कर्षमा पुग्ने बाटो नै यही बन्यो’पालिका अध्यक्ष वनेम उतिबेलाको स्मरण गर्दै भन्नुहुन्छ‘चुनौतिलाई अवसरमा बदल्ने योजना हामीले यहीबाट सुरु गर्यौं,’ ।

२०८० सालको नतिजाले बिक्षिप्त भएको शैक्षिक क्षेत्र सुधार्नका लागि पालिकाले विभिन्न योजना अघि सार्यो । लथालिङ्ग भएको शैक्षिक नतिजा सुधारका लागि पालिकाले २०८१ सालको जेठ १८ र १९ गते दुईदिने वृहत्त शैक्षिक सम्मेलन आयोजना गर्दै शिक्षाका सरोकारवालालाई थप जिम्मेवार र सम्बेदनशिल बनाउन बाध्यकारी जिम्मेवारीको रुपमा घोषणापत्र,आचारसंहिता र कार्यदेश प्रयोगमा ल्याउने निश्कर्ष निकाल्यो । घोषणापत्र,आचारसंहिता र कार्यदेशको कार्यान्वयन गर्ने दायित्व बिद्यालय प्रशासन,बिद्यालय व्यवस्थापन समिति,बिद्यार्थी,शिक्षक,अभिभावक देखि पालिका र वडासम्म अनिवार्य प्रावधानकै रुपमा कार्यान्वयनमा आउन थाल्यो । पालिकाको शिक्षा समितिले शिक्षाका सरोकारवाला भनेर औंल्याएका समूह र व्यक्तिले शिक्षा सुधारको जिम्मेवारी पूरा गरे नगरेको नियमित अनुगमन समेत गर्ने थाल्यो ।

पालिका शिक्षा समितिका अध्यक्ष वनेमको नेतृत्वमा पालिकाको शिक्षा शाखाको टीम पालिकाका अधिकाँस बिद्यालयका कक्षाकोठासम्म पुग्दा शैक्षिक क्षेत्रमा सुधारको जग बलियो बन्दै गयो । फलरुवरुप पालिकाले २०८१ सालको शैक्षिक सत्रमा कक्षा ८ को समग्र नतिजा तीन प्रतिशतबाट ३५ मा प्रतिशत र २०८२ सालमा ५१ प्रतिशतमा पु-याएको छ । पालिका अध्यक्ष वनेम सार्वजनिक शिक्षा सुधारका लागि आफुहरुले चालेका कदम दीर्घकालिन सोच र प्रकृतिको भएका बताउनुहुन्छ ।‘शैक्षिक क्षेत्रमा गरेको लगानी र मेहनेतको प्रतिफल क्रमशःदेखिन थालेको छ’पालिका अध्यक्ष भन्नुहुन्छ‘त्यसको स्पष्ट संकेत २०८०,२०८१ र २०८२ को नतिजा सुधारको अवस्था हेरे स्पष्ट हुन्छ’ । ‘हामीले प्रयास गर्दा परिवर्तन सम्भव छ भन्ने कुरा निरन्तरको शैक्षिक नतिजा सुधारले पुष्टी गरेको छ’पालिका अध्यक्ष वनेमको प्रतिक्रिया छ ।

पालिकाका प्रवक्ता तथा मैवाखोला गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङ चुनौतिलाई अवसरमा बदल्ने योजना अनुरुप पालिकाले शिक्षा क्षेत्रमा लगानी र मेहनेत दुबै सर्मपित गरेको बताउनुहुन्छ । ‘धेरैले पालिकाको शैक्षिक नतिजा बाहिर देखाउनुहुन्न थियो,हामीले सार्वजनिक गरेर सार्वजनिक शिक्षा सुधारको जग बसायौं’प्रवक्ता तामाङले भन्नुभयो‘शिक्षा सुधारको योजना बनायौं,कार्यान्वयनमा लग्यौं,नियमित अनुगमन गर्यौं,’,त्यसैले हाम्रो पालिकाका सिकाई सुधारमा सकारात्मक परिवर्तन आएको छ ।

पालिकाका शिक्षा अधिकृत(आठौं)लक्ष्मीमाया गोम्देनका अनुसार २०८२ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा मैवाखोलाको नतिजा जिल्लामै दोस्रो बन्यो । गोम्देनका अनुसार यो नतिजा पहिला भन्दा सुधार भएर आएको हो । २०८२ सालको शैक्षिक सत्रको एसईई नतिजामा आठराई त्रिबेणीका ७४.१६ प्रतिशत बिद्यार्थी उर्तीण भए । यो पहिलो नतिजा थियो । मैवाखोलामा आठराई त्रिबेणी भन्दा केहि कम अर्थात् ७३.३३ प्रतिशत बिद्यार्थी उर्तीण भएका छन् । पालिकाले यसपटक जिल्लाभरमै अब्बल नतिजा हाँसिल गर्ने उद्धेश्यसहित शैक्षिक क्रियाकलापलाई बलियो र प्रभावकारी बनाउँदै लगेको जनाएको छ ।‘प्रयास गरे परिवर्तन सम्भव छ भन्ने उदाहरणले सार्थक परिणाम दिँदै गएको छ’गोम्देनले भन्नुभयो ।

Similar Posts