वैकल्पिक मार्गमार्फत मेची राजमार्गको सडक सीमा समस्या समाधान गर्न स्थानीयद्धारा सरकारको ध्यानाकर्षण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २० । मेची राजमार्गको सडक सीमा क्षेत्रका संरहचना हटाउन जारी भएको ३५ दिने म्याद पछि ताप्लेजुङको फुङलिङका स्थानीयले बजारको सम्पूर्ण संरचना भत्किन गई बजारको अस्त्वि नै नामेट हुने चिन्ता जनाएका छन् । स्थानीयले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै फुङलिङ बजारमा मेची राजमार्गको सडक सीमा सम्वन्धी कार्यविधि लागु गर्नु भन्दा निर्माणाधिन वैकल्पिक मार्गलाई पूरा गरी समस्या समाधान गर्न सरकारको ध्यानकर्षण गरेका छन् ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण थापाको नेतृत्वमा रहेको स्थानीय अगुवाहरुले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाएको ज्ञापनपत्रको वोधार्थ फुङलिङ नगरपालिकालाई समेत दिएका छन् । गत जेठ १३ गते सार्वजनिक सूचना आवह्वान गर्दै सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको सडक सीमा क्षेत्रका संरहचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचना पश्चात निर्माणाधिन वैकल्पिक मार्गलाई पूरा गरी समस्या समाधान गर्न आग्रह गर्ने पक्षधरले नेपाल सरकार र स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा वैकल्पिक मार्गको रुपमा तोक्मेडाँडा हुँदै फुङलिङ नगरपालिका वडा नं ५ उकालीपानी हुँदै पाथीभरा आधारभूत बिद्यालय नजिक जोडिने मार्गको ट्रयाक ओपन भइसकेको क्षेत्रलाइए प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७७।७८ बाट ट्रयाक ओपन हुन थाली चालु आर्थिक बर्ष २०८२।८३ सम्ममा नै वैकल्पिक मार्गको काम जारी रहेको र हालसम्म उक्त सडकका लागि करिव ३ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको ज्ञापनमा उल्लेख गरिएको छ । उक्त वैकल्पिक मार्गलाई प्रयोग गरेमा पुरानो र साँघुरो बजार क्षेत्रमा लागु भएको सडक सीमा क्षेत्रको स्थायी समाधान भई बजारको अस्थित्व समेत बच्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । मेची राजमार्गको काबेली–फुङलिङ खण्ड २०४२ सालमा ट्रयाक ओपन भएको तर अहिले कार्यविधि भने सडक ऐन २०३१ लाई आधार मानेर लागु गर्न खोज्नु फुङलिङबासीको हित विपरित हुने स्थानीय मुक्तिराज पौडेल बताउनुहुन्छ ।

वैकल्पिक मार्ग भनिएको क्षेत्रमा जग्गा रहेका केहिले भने आफुहरुको जग्गा खरिद र उक्त मार्गको जग्गाका बारेमा क्षतिपूर्ति नपाएको भन्दै विरोध समेत गरेका छन् । उक्त मार्गमा जग्गा रहेको दावी गर्दै स्थानीय राजकुमार बानियाँले ज्ञापनपत्रमा वैकल्पिक मार्गका लागि जनस्तरबाट जग्गा खरिद गरि सरकारका नाममा रजिष्ट्रेसन गराई वैकल्पिक मार्ग बनाएको भन्ने देखिएको तर उक्त वैकल्पिक मार्गमा आफ्नो पनि जग्गा रहेको तर आज सम्म कसैले उक्त जग्गा खरिद नगरेको दावी गर्नु भएको छ । वैकल्पिक मार्गका नाममा बिना क्षतिपुर्ति आफ्नो जग्गा मासेर बाटो नदिने बानियाँले चेतावनी दिनु भएको छ । ज्ञापनपत्रमा साविकमा मेची राजमार्ग फुङलिङ बजारबाट सुकेटार–गढीडाँडा हुँदै ओलाङचुङगोलासम्म कायम गरिएकोमा हाल अन्तराष्ट्रिय नाकासंग जोडिने सडक तमोर करिडोर मुलघाट–सुभाङ–लिम्बूनी पुल–हाङपाङ–दोभान–मित्लुङ–सिँवा–तापेथोक– ओलाङचुङगोला हुँदै टिपताला भञ्ज्याङसम्म तमोर करिडोरको रुपमा छुट्टै रहेको र मेची राजमार्ग जोडिने मेची राजमार्गको बहानन्देबाट पालुङ्वाचौक–सिम्ले हुँदै लहरेगाउँ पुगी तमोर करिडोरको मूल सडकमा जोडिने भएकोले बहानन्दे–सुकेटारसम्मको सडकको वैकल्पिक मार्ग नै सडक आसपासका नागरिकको निजी सम्पत्तिको सुरक्षा र स्थायी समाधान हुने उल्लेख गरिएको छ । ज्ञापनपत्रमा मुक्तिराज पौडेल,तारानाथ घिमिरे,निर्मला गुरुङ,डम्बरहादुर कार्की,सागर विक,निरकुमार श्रेष्ठ,हाङमाया लिम्बू,खेमराज केसी,छत्र विक,इन्द्रबहादुर गुरुङ सहितको हस्ताक्षर रहेको छ ।

Similar Posts