बिद्यार्थीहरुमा बर्बराउने,काम्ने,लड्ने जस्ता समस्या देखिएपछि सिदिङ्वाको बालकल्याण मावि तीनदिनलाई बन्द
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २० । बिद्यार्थीहरुमा बर्बराउने,काम्ने,लड्ने जस्ता अनौठो प्रकृतिको समस्या देखिएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित बालकल्याण मावि सुरुम्खिम तीनदिनका लागि बिदा गरिएको छ ।
बिद्यालयका प्रधानाध्यापक यज्ञ पौडेलका अनुसार अनौठो प्रकृतिको समस्या एकपछि अर्को बिद्यार्थीमा बढ्दै गएपछि पालिकाको शिक्षा शाखासंगको समन्वयमा बुधवार,बिहीबार र शुक्रवारका लागि बिद्यालय बन्द गरिएको हो । पौडेलले स्थानीय स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरुको टोली आई परीक्षण गरेपनि बर्बराउने काम्ने,लड्ने जस्ता समस्या एकपछि अर्को बिद्यार्थीमा बढ्दै गएपछि बिद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।‘जो बर्बराउन थाल्छ,उसले नजिकै रहेको अर्को बिद्यार्थीलाई आँखा टेढो बनाएर हेरेको जस्तो देखिन्छ,अनि अर्को बिद्यार्थी पनि बर्बराउने लड्ने जस्ता समस्या देखिन्छ’पौडेलले भन्नुभयो । समस्या देखा पर्न थालेपछि आफुहरु पालिकाको शिक्षा शाखामा खबर गरेको र शिक्षा शाखाबाट पुगेकाहरुले समेत बिद्यार्थीमा देखिएको अनौठो समस्या अरुमा देखा नपरोस् भन्ने हिसावबाट बिद्यालय बन्द गरी समस्या समाधानतर्फ लाग्न गरेको आग्रह अनुसार बिद्यालय बन्द गरिएको पौडेलले बताउनुभयो ।
प्रदेश सरकारमार्फत प्राप्त योजनाको बोलपत्रद्धारा परेको ठेक्का अनुसार बिद्यालयमा क्यान्टिन बनाउनका लागि नजिकै रहेको दुधिलो र अर्को पात्लेको रुख रहेकोमा उक्त रुख काटेदेखि ‘एकजना बिद्यार्थी मन्दिरको थान किन बिगारिस्,दुध आउने रुख किन काटिस् जस्ता बाक्य बोलेर बर्बराउन र लड्न गर्न थाले,हामीले गर्मीको समस्या हो की भनेर शान्त कोठामा पु¥यायौं,तर समस्या समाधान भएन,बरु अर्को बिद्यार्थी समेत यसरी नै बर्बराउने र लड्ने गर्न थाले’पौडेलले भन्नुभयो । उहाँले धार्मिक विश्वासलाई समेत आधार मानेर आफुहरुले रुख कटान भएको क्षेत्रमा पाठपूजा समेत गरेको,धुपबात्ति समेत बालेको स्मरण गर्दै यस्तो समस्या एकपछि अर्को बिद्यार्थीमा देखिएपछि बिद्यालय बन्द नै गर्नु परेको बताउनुभयो ।