ईवा हाईड्रोपावर कम्पनीले गरेको पूर्व सहमति कार्यान्वयनको माग गर्दै आयोजना प्रभावित क्षेत्रका नागरिक आन्दोलित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १९ । ईवा हाईड्रोपावर कम्पनीले पूर्व सर्त र सहमति कार्यान्वयन नगरेको भन्दै प्रभावित क्षेत्रका जनताले गाउँपालिका गुहारेका छन् ।
आयोजना प्रभावित क्षेत्रका जनताले सिदिङ्वा गाउँपालिकालाई हाईड्रोपावर कम्पनीले गरेको पूर्व सहमति कार्यान्वयन गरी मोटरबाटो निर्माण,विद्युत सेवा विस्तार र शैक्षिक सहयोग सुनिश्चित गरिदिन अनुरोधपत्र लेखेका हुन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका तथा पाँचथरको याङवरक गाउँपालिकाकोबिच भएर बग्ने इन्दावति खोलामा सञ्चालित ईवा हाईड्रोपावर कम्पनीले २०७९ साल बैशाख २७ गते गरेको लिखित सम्झौता कार्यान्वयन हुनुपर्ने प्रभावित क्षेत्रका नागरिकको माग रहेको छ । प्रभावित क्षेत्रका नागरिकले सहमति कार्यान्वयनका लागि आफुहरु जटिल र सम्बेदनशिल कार्यतर्फ अग्रसर हुन थालेको चेतावनी दिदैं अवस्था थप जटिल नबनाउन तथा पालिकाकोतर्फबाट अभिभावकीय भूमिका निर्वाह गर्दै आवश्यक पहल,समन्वय र दबाबका लागि सिदिङ्वा गाउँपालिकालाई आग्रह गरेका छन् ।
प्रभावित क्षेत्रका नागरिकहरुले पूर्व सहमति अनुसार सिदिङ्वा गाउँपालिका वडा नं ३ साविक वडा नं ८,६ र ३ को खोरिम्बा हुँदै साँघुडाँडा जाने मोटरबाटो निर्माणको पूर्णता,प्रभावित क्षेत्रका बिद्यालयलाई जनही ३ लाख रुपैयाँका दरले दिईने सहमति भएको रकमको तत्काल निकासा र विद्युत सेवा बिस्तार जस्ता सहमतिका बिषय कार्यान्वयन गर्न माग गरेका हुन् । प्रभावित समुदाय सदस्यहरुका अनुसार ईवा हाईड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेवा उपलब्ध हुनेगरी विद्युत सेवा बिस्तारका लागि पोल उपलब्ध गराई विद्युत सेवा सुनिश्चित गर्नेगरी गरेको लिखित सहमति समेत उल्लंघन गरेको छ । पूर्व सहमति कार्यान्वयन गर्न र आफुहरुलाई पटक–पटक धैर्यताको परीक्षण नगर्न उनीहरुले जलविद्युत कम्पनीको ध्यानाकर्षण गराएका छन् । साल जेठ १५ गते देखि सुरु गर्ने भनिएको खोरिम्बा हुँदै साँघुडाँडा जाने मोटरबाटो बोदोक हुँदै साँघुडाँडासम्म निर्माण कार्यबिचमै रोकिएको आयोजना प्रभावित क्षेत्रका जनताले भनेका छन् ।
२०७९ साल बैशाख २७ गते गरेको लिखित सम्झौतामा सिदिङ्वा गाउँपालिकाका तत्कालिन अध्यक्ष नरबहादुर कडरिया र ईवा हाईड्रोपावर कम्पनीकातर्फबाट आयोजना प्रमुख उमेश नेपालको हस्ताक्षर रहेको छ । रन अफ रिभर जलविद्युत आयोजना रहेको इँवाखोला जलविद्युत आयोजना ९.९० मेगावटको रहेको छ । रैराङ हाईड्रोपावर कम्पनी लिमिटेड यसको प्रवद्र्धक रहेको छ ।