मैवाखोलाको एकीकृत घुम्ति शिविर,दुईदिनमै १७ सय बढी सेवाग्राहीले लिए सेवा
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडागत रुपमा सुरु गरेको एकीकृत घुम्ति शिविरको दुईदिनमै सत्रसय बढीले सेवा लिएका छन् ।
मैवाखोला गाउँपालिकाले सोमवार वडा नं १ र मंगलवार वडा नं २ मा एकीकृत घुम्ति शिविरमार्फत सेवा दिएको हो । मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार वडा नं १ मा ८ सय ८३ जना र वडा नं २ मा ८ सय ३८ जना गरी कुल १ हजार ७ सय २१ जनाले सेवा लिएका छन् । बुधवार वडा नं ६ फाकुम्बाका सेवाग्राहीलाई लक्षित गरी सेवा प्रदान गर्ने कार्यक्रम रहेको मैवाखोला गाउँपालिकाले जनाएको छ । मैवाखोला गाउँपालिकाका सबै बिषयगत शाखाहरु एकीकृत घुम्ति शिविर लिएर गाउँघर पुगेका छन् । लक्ष्मी सनराइज बैंकमार्फत सामाजिक सुरक्षा भत्ता समेत प्रत्येक वडामै बितरण गर्ने गरिएको छ ।
पालिकाको प्रशासन शाखा,योजना पूर्वाधार र नक्सापास,स्वास्थ्य शाखा,आर्युबेद औषधालय,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा,सूचना प्रविधि शाखा,शिक्षा युवा तथा खेलकुद शाखा,रोजगार तथा राजश्व शाखा,खानेपानी तथा सरसफाई इकाई,पशु स्वास्थ्य शाखा,कृषि विकास शाखा,उद्यम विकास शाखा र पञ्जीकरण शाखामार्फत उक्त सेवा प्रवाह भइरहेको छ । गाउँपालिकाले एकीकृत घुम्ति शिविरका साथ सार्वजनिक सुनुवाई कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । एकीकृत घुम्ति शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं १ र २ पछि क्रमशःवडा नं ६,वडा नं ५,वडा नं ४ र बैशाख ३० गते पालिकाको केन्द्र साँघुस्थित वडा नं ३ मा सञ्चालन गरिने छ ।