अनुगमन समितिद्धारा ताप्लेजुङमा ग्याँस बिक्री गर्ने व्यवसायको अनुगमन,ग्याँसको नापतौल समेत गरियो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २३ । जिल्ला अनुगमन समिति ताप्लेजुङले फुङलिङ बजारका ग्याँस बिक्री गर्ने पसलहरुको अनुगमन गरी मौज्दात संख्या र बिक्री दरबारे जानकारी लिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको संयोजकत्वमा फुङलिङ नगरपालिका,जिल्ला प्रहरी कार्यालय,ताप्लेजुङ उद्योग वाणिज्य संघ,उपभोक्ता हित संरक्षण मञ्च र पत्रकार महासंघका प्रतिनिधि सहितको टोलीले अनुगमन गरेको हो । सहायक प्रजिअ भट्टराईले अहिले बजारमा पूरै भरिएको सिलिण्डर आउन थालेको र आधा भरिएको सिलिण्डरको बिक्री कम मात्र भएको पाईएको जानकारी दिनुभयो । खाना पकाउने ग्याँसको अभाव हुन थालेपछि नेपाल आयल निगमले आधा भरिएको सिलिण्डर बजारमा ल्याएको थियो । पूरै भरिएको र आधा भरिएको सिलिण्डरले मालवाहक सवारीको उति नै भाग ओगट्ने भएकोले पूरै भरिएको र आधा भरिएको सिलिण्डरको ढुवानी मूल्य उस्तै पर्न जाने भन्दै यहाँ सुरुमा आधा भरिएको सिलिण्डरको मूल्य प्रतिगोटा १ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो । पछि पेट्रोलियम पदार्थको मूल्य बृद्धिका कारण केहि थपघट भएपनि फुङलिङमा आधा भरिएको सिलिण्डर भनेजस्तो बिक्रीमा नआएको व्यवसायी स्वयंले बताएका छन् ।
बजारमा अहिले पूरै भरिएको सिलिण्डरको मूल्य २ हजार ५ सय देखि २ हजार ५ सय ५० रुपैयाँ पर्न जाने ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ । अनुगमन समितिले व्यवसायीले ल्याएको पछिल्लो ग्याँसको परिमाण र बिक्रीखाता समेत खोजेको छ । बजारमा कृतिम अभाव हुन नदिन तथा प्रचलित दररेट भन्दा बढी मूल्य लिन नपाउने व्यवसायिक मापदण्डको पूर्ण पालनामा लागि अनुगमन समितिले सुक्ष्म अनुगमनलाई समेत निरन्तरता दिने सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । अनुगमन समितिले कसैले प्रचलित दररेट भन्दा बढी मूल्य लिएको पाईए वा ग्याँस सहितका उपभोग्य साग्री भईकन समेत कसैले लुकाएर राखेमा प्रहरी प्रशासन सहितका निकायमा खबर गर्न आग्रह समेत गरेको छ । अनुगमन समितिले ग्याँसको तौल समेत नापजाँच गरेको ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले उपभोक्तालाई समेत आवश्यकता भन्दा बढी उपभोग्य सामग्री भण्डार नगर्न आग्रह समेत गरेको छ । जिल्ला प्रशासन कार्यालयले उपभोग्य सामग्रीको कालोबजारी तथा कृत्तिम अभाव सृजना हुन नदिन नियमित रुपले सुक्ष्म अनुगमन गर्ने समेत जनाएको छ । यसैबिच भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको अगुवाई तथा सहायक प्रजिअ भट्टराईको नेतृत्वमा यहाँका माछा तथा मासुजन्य व्यवसायको अनुगमन गरी दर्ता तथा नविकरण,सरसफाई र बिक्री मूल्य सहितका प्रकृयाको बारेमा जानकारी लिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिनुभयो ।