माघे मेला गोल्डकप २०८२ को उपाधि आयोजकलाई
खगेन्द्र अधिकारी
ताप्लेजुङ, माघ ६ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम सिँवामा सञ्चालित प्रथम आमन्त्रित माघे मेला गोल्डकप २०८२ को उपाधि आयोजक सिँवा स्पोर्टिङ क्लबले हात परेको छ ।
लालीगुँरास युथ स्पोर्टिङ क्लब सुरुम्खिमलाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो । उपाधि सँगै आयोजकले ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको । उपविजेता लालीगुराँसले नगद १ लाख ७५ हजार ८२ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको माघे मेला सञ्चालन समितिका अध्यक्ष तेजवीर लिम्बूले जानकारी दिनुभयो ।
समापन खेलको प्लेयर अफ द म्याचको उपाधि सिँवा स्पोर्टिङ क्लवका पवन लिम्बू बन्नुभयो । उहाँले नगद २ हजार रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गर्नुभयो । बिधागततर्फ प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी लालीगुराँस स्पोर्टिङका हितेन लिम्बू घोषित हुँदै नगद ५ हजार रुपैयाँसहित ट्रफी पाउन सफल हुनुभयो । सिँवा स्पोर्टिङ क्लवका आकास लिम्बू उत्कृष्ट गोलरक्षक बन्दा उक्त क्लवकै योगेश लिम्बू उत्कृष्ट डिफेन्डर बन्नुभयो । सर्वाधिक गोलकर्ता भने ड्रिम ब्वाइज फुटबल क्लव धनकुटाका शुक्र लिम्बू बन्नुभयो । सर्वोत्कृष्ट बाहेक अन्य बिधागततर्फका बिजेता खेलाडीले नगद २ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
प्रतियोगिताको बिजेता टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्वमन्त्री खगेनसिं हाङ्गाम,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा(विकास), फक्ताङलुङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष आइतवार लिम्बू,माघे मेला सञ्चालन समितिका अध्यक्ष लिम्बू,संरक्षक मचिन्द्र लिम्बू सहितले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको छ
क्षेत्रफलको हिसाबले नेपालकै तेस्रो ठूलो पालिका रहेको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार तथा सिँवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यसहित मेलाको आयोजना गरिएको माघे मेला सञ्चालन समितिका साँस्कृतिक संयोजक फुङनाम लिम्बू(रेशम)ले जानकारी दिनुभयो । सदरमुकाम फुङलिङ बाहिर ११ जना खेलाडी रहेर खेल्न मिल्ने(११ साइज)को मैदानमा पहिलोपटक यो तहको प्रतियोगिता आयोजना गरिएको हो ।