तमु ल्होसारमा फुटबल प्रतियोगिताको आयोजना
-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ९ । गुरुङ समुदायको मौलिक पर्व तमु ल्होसारको अवसरमा ताप्लेजुङमा क्लबस्तरीय खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–६ मा यही पुस ११ देखि १५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
तमु ल्होसार मूल आयोजक समिति र ताप्लेजुङ स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति कप फुटबल प्रतियोगिता हुने भएको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा सहभागी हुने टोली अर्थात क्लबबारे र खेल तालिका सार्वजनिक गरिएको छ ।
खेल तालिकाअनुसार उद्घाटन खेल आयोजक र साथीभाइ स्पोसर्टिङ क्लबबिच हुने छ । यस्तै पहिलो दिनमै गोर्खाली स्पोर्टिङ क्लब र कर्णसिंह सोनाम फुटबल क्लबबिच खेल हुने भएको छ । दोस्रो दिन पुस १२ गते मनमाया स्पोर्टिङ क्लब थुकिमा र मिनि स्पोर्टिङ क्लब फुरुम्बुबिच खेल हुने छ । सोही दिन कञ्चनजङ्घा फुटबल क्लब र तमु स्पोर्टिङ क्लबबिच खेल हुने छ ।
प्रतियोगितामा तेस्रो दिन पुस १३ गते नेपाल प्रहरी क्लब ताप्लेजुङ र पाथीभरा युथ क्लब फावाखोला तथा नवप्रयास स्पोर्टिङ क्लब र केलाङ स्पोर्टिङ क्लबबिच खेल हुने छ । पुस १४ गते तमु ह्युल छोँज धिँ, आयोजक ‘बि’ र सेमिफाइनल चरणका खेलहरु हुने आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लबका अध्यक्ष मणिराज गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार प्रतियोगिताको फाइनल तमु ल्होसारको मुख्य दिन पुस १५ गते हुने छ ।
यता प्रतियोगिताको विजेताले एक लाख १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । उपविजेताले ५५ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । विजेता र उपविजेताले प्राप्त गर्ने नगद पुरस्कारको रकम स्वर्गीय पदमबहादुर गुरुङका दाजु तिलबहादुर गुरुङ, छोरा फुराज गुरुङसहित उहाँकै परिवारले उपलब्ध गराउनुहुने पनि आयोजकले जनाएको छ ।
यता तमु ल्होसारमा सदरमुकाम फुङ्लिङ बजारमा साँस्कृतिक ¥यालीसँगै गुरुङ गुम्बा परिसरमा शुभकामना आदानप्रदान सहितका औपचारिक कार्यक्रम हुने तमु ल्होसार मूल आयोजक समितिले जनाएको छ । ल्होसारको दिन साँझ लोक दोहोरीसहित साँस्कृतिक कार्यक्रमहरु पनि हुने साँस्कृतिक समिति संयोजक सूर्य गुरुङले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष तेज गुरुङलगायत ल्होसार आयोजक समिति तथा ताप्लेजुङ स्पोर्टिङ क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो । मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्धनसँगै सिंगो जिल्लाको पर्यटन प्रवर्धन गर्नमा टेवा पु¥याउने उद्देश्यले खेलकुद सहितका कार्यक्रम आयोजना गरिएको स्थानीय अगुवा देवराज गुरुङले बताउनुभयो ।