अबको १० बर्षमा कञ्चनजंघा संरक्षण क्षेत्रमा बार्षिक ८ हजार बाह्य पर्यटक भित्र्याउने लक्ष्य,पर्यटन रणनीति बनाईँदै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २८ । अबको १० बर्षमा कञ्चनजंघा हिमाल र कञ्चनजंघा संरक्षण क्षेत्रमा आउने बिदेशी पर्यटकको संख्या बार्षिक ८ हजार पुर्याउने लक्ष्य सहित पर्यटन रणनीति तर्जुमा गर्न थालिएको छ ।
समृद्ध पहाड परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पर्यटन रणनीति तर्जुका लागि बिषयविज्ञद्धारा अनुसन्धनात्मक अध्ययन सुरु गरेको हो । परार्मशदाता सुमित बराल र उहाँको टोली अध्ययनमा सक्रिय रहेको छ । टोली संयोजक बरालका अनुसार अहिले कञ्चनजंघा संरक्षण क्षेत्रमा बार्षिक करिव दुई हजार पर्यटक आइरहेका छन् । १० बर्षमा उक्त संख्यालाई चार गुणाले बृद्धि गर्ने र त्यसका लागि आवश्यक पर्ने पूर्वाधार सहितका सबै संरचना र सामग्रीले पर्याप्त बनाउने के कसरी अघि बढ्ने भन्ने बारेमा विज्ञ बरालले सरोकारवालाको राय माग्नु भएको छ । सरोकारवालाबाट प्राप्त सुझावलाई समेत समेटेर आफुहरुले रणनीतिक योजना तर्जुमा गरी समृद्ध पहाड परियोजना र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई हस्तान्तरण गर्ने बरालले सुनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले नीति,रणनीति,कार्यनीति,गतिविधि र उपलब्धीको सूचक तयारी पारी अघि बढ्न सुझाव दिनुभयो । फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले भर्जिन ल्याण्ड मानिने याङ्मा बस्ती सहितका दूर क्षेत्रलाई समेत समेटेर पर्यटन रणनीति तर्जुमा गर्न सुझाव दिनुभयो । उहाँले भौतिक चिजलाई मात्र पर्यटनको आधार बनाउने नभई संरक्षण क्षेत्रभित्रको संस्कार,संस्कृति,रहनसहन,जीवन शैली र परम्परालाई समेत बिक्री योजना बनाउन सुझाउनुभयो । उहाँले बाह्यसंगै आन्तरिक पर्यटन प्रवद्र्धनलाई ध्यान दिएर अघि बढ्नुपर्ने बताउनुभयो । सिरिजङ्गा गाउँपालिका वडा नं ८ का वडा सदस्य दावाछिरिङ शेर्पाले आन्तरिक र बाह्य दुबै पर्यटकलाई एकसाथ स्वागत गर्न पाउने अवस्था निर्माण गर्नेगरी रणनीति तय गर्नुपर्नेमा जोड दिनुभयो । हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि केदेम सुब्बाले पदमार्ग व्यवस्थापन र आन्तरिक पर्यटन प्रवद्र्धन अबको एजेण्डा बन्नुपर्ने बताउनुभयो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले पर्यटकीय क्षेत्रका न्यूनतम् पूर्वाधारहरु सडक र पदमार्गको व्यवस्थापन,उचित र प्रभावकारी किसिमका होटल तथा लज,अतिथि सत्कारका योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले बाह्य पर्यटकको रोजाईका बिषयबस्तुलाई प्राथमिकता दिदैं नयाँ पर्यटकीय मार्गको खोजीमा समेत ध्यान दिन आग्रह गरे । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले कञ्चनजंघा संरक्षण क्षेत्र आन्तरिक पर्यटकका लागि समेत सम्भावनाको बलियो क्षेत्र भएकोले यसलाई समेत उचित ध्यान दिएर पर्यटन रणनीति तयार गर्नुपर्ने सुझाव दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार महत्पूर्ण हुने भएकोले सामाजिक सञ्जालसहितका सार्वजनिक सञ्चार माध्यमको उचित पहुँच स्थापना र प्रयोग गर्नुपर्ने सुझाव समेत उठेको छ ।
रणनीति तर्जुमा कार्यका लागि विज्ञ समूहको नेतृत्व गर्नु भएका बरालले सरोकारवाला माझ तीनवटा बिषयको सुझाव मागे गर्नु भएको थियो । त्यसमा कञ्चनजंघा संरक्षण क्षेत्रको सबैभन्दा ठूलो अवसर के हो,मुख्य चुनौति के हुन् र संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई मुख्य गन्तव्य व्यवस्थापक मानेर अघि बढ्न अरु निकायले कसरी सघाउन सक्छन् भन्ने थियो । सरोकारवालाले पूर्वाधार र पर्यटन सेवा सुधारका लागि संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई प्रमुख गन्तव्य व्यवस्थापक मानेर अरु निकायले पनि सहयोग गर्न सक्ने आशय व्यक्त गर्नुभयो । परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले कञ्चनजंघा संरक्षण क्षेत्र पर्यटनको बलियो सम्भावना बोकेको क्षेत्र भएकोले थप प्रवद्र्धन गर्दै उक्त क्षेत्रका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुने पर्यटन रणनीति तयार हुने विश्वास लिनुभयो ।
समृद्ध पहाड परियोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जिव न्यौपानेले संरक्षण क्षेत्रका नागरिकलाई वित्तीय पहुँचमा स्थापित गर्न २०७० साल देखि सुरु भएको परियोजनाले पछिल्लो समय मुख्य ५ क्षेत्रलाई आधार लिएको बताउनुभयो । उहाँका अनुसार पर्यटन तथा जैविक विविधता संरक्षण,पर्यटन पूर्वाधार सुधार,पर्यटनमार्फत स्थानीय अर्थतन्त्रमा योगदान,सुरक्षित पर्यटन गतिविधि र संरक्षण क्षेत्रमा पर्यटक आवागमनमा बृद्धि गर्ने योजनाका साथ पर्यटन रणनीति तर्जुमाको तयारी गरिएको हो ।