एमाले मिक्वाखोला गाउँपालिका कमिटीले तेम्बाका अग्नि पीडितलाई दियो ३ लाख ३६ हजार रुपैयाँ राहत

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १२ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको तेम्बाका आगलागी पीडितलाई नेकपा एमाले मिक्वाखोला गाउँपालिका कमिटीले ३ लाख ३६ हजार रुपैयाँ राहत रकम बितरण गरेको छ ।

नेकपा एमाले मिक्वाखोला गाउँपालिका कमिटीको बिशेष सक्रियतामा संकलित रकम शुक्रवार आगलागी पीडित परिवारलाई बितरण गरिएको नेकपा एमाले मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष गजेन्द्र थलङले जानकारी दिनुभयो । एमाले ताप्लेजुङ जिल्ला कमिटी सदस्य तथा मिक्वाखोला गाउँपालिका वडा नं ४ का इञ्चार्ज मिथुन साँवाका अनुसार आगलागी पीडित ६ घर परिवारलाई जनही नगद ५६ हजार रुपैयाँका दरले उक्त राहत रकम बितरण गरिएको छ । आगलागी पीडित राजकुमार साँवा,अनिल साँवा,इन्द्रकुमार साँवा,बिष्णु साँवा,पासाङफुटी शेर्पा र दोर्ची शेर्पालाई उक्त राहत रकम हस्तान्तरण गरिएको स्थानीय पदम साँवाले जानकारी दिनु भएको छ ।

यसअघि नेपाल कम्युनिष्ट पार्टीले २ लाख १९ हजार रुपैयाँ,नेपाली काँग्रेसले ६९ हजार रुपैयाँ,कोशी सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले ३६ हजार रुपैयाँ राहत रकम बितरण गर्नु भएको छ । यही मंसिर २ गते राति तेम्बा बजारमा भएको आगलागीले ४ घर जलेर खरानी भएको थियो भने त्यहाँ रहेका ६ घर परिवार बिस्थापित भएका छन् । अलैंची सहितका सामग्री जलेर खरानी हुँदा त्यहाँ करिव १ करोड १९ लाख रुपैयाँ बराबर क्षति भएको विवरण संकलन भएको छ ।

Similar Posts