सीमा क्षेत्रमा विशेष प्याकेज ल्याइने

अरुलाई पनि शेयर गरौ !

दार्चुला,असोज ११ । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रका जनताका लागि विशेष प्याकेजका कार्यक्रम ल्याइने बताउनु भएको छ । शनिबार जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले व्यास गाउँपालिका–१ टिंकर र छाङरुलगायत सीमा क्षेत्रका बासिन्दाका लागि विशेष प्याकेजका कार्यक्रम ल्याइने बताउनु भएको हो । ‘त्यहाँका नागरिकको रोजगारी, युवालाई प्रहरीमा भर्ती गर्ने, स्वरोजगार दिने खालका कार्यक्रम सरकारले ल्याउने छ,’ उहाँले भन्नुभयो । यसका लागि उक्त क्षेत्रका भारतीयजस्तै सरकारले नेपाली नागरिकलाई पनि आरक्षण व्यवस्था गर्नुपर्ने र सरकारी सेवा तथा सुरक्षा निकायमा भर्नाका लागि प्राथमिकता दिइनुपर्ने उहाँले बताउनुभयो । सीमा सुरक्षासँगै जनताले विकास र रोजगारीमा आरक्षण माग गरेका हुनाले त्यसैअनुसार विशेष सुविधा दिलाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । शुक्रबार व्यास गाउँपालिका–१ छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको भवन शिलान्यास गरेर खलंगा फर्किनु भएका गृहमन्त्री थापाले कालापानी क्षेत्रमा बाह्रै महिना सुरक्षाकर्मीलाई बस्न स्थायी संरचना निर्माण हुन लागेको बताउनुभयो । सीमा सुरक्षा सरकारले मात्रै गरेर नहुने भन्दै जनताको साथ अत्यावश्यक रहेको उहाँको भनाइ छ । गृहमन्त्री थापाले कालापानी रणनीतिक महत्वको क्षेत्र भएको बताउँदै यसलाई व्यापारिक मार्ग र पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्ने धारणा राख्नु भएको छ । उहाँले अहिले सरकारले सीमा समस्या समाधानका लागि कूटनीतिक पहल अगाडि बढाएको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts