काबेली इनर्जी कम्पनी लिमिटेडद्धारा १ अर्ब ५ करोडको संस्थापक शेयर खुल्ला

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १२ । काबेली इनर्जी कम्पनी लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको संस्थापक शेयर खुल्ला गरेको छ ।

संस्थापक शेयर लगानी बारे काबेली इनर्जी कम्पनी लिमिटेडले शुक्रवार फुङलिङमा आयोजित कार्यक्रममार्फत जानकारी गराएको हो । जस अनुसार शेयर लगानीका लागि दुईवटा प्रावधान राखिएको छ । आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम् १० हजार मूल्य बराबरको शेयर लगाउन पाउनेछन् । ति दुई जिल्ला बाहेक अन्य जिल्लाका नागरिकका लागि न्यूनतम् शेयर मूल्य १ लाख रुपैयाँ बराबर कायम गरिएको छ । १ अर्ब ५ करोड रुपैयाँ बराबरको संस्थापक शेयर संकलन भएपछि शेयर लगाउन पाउने दिन बन्द हुने काबेली एनर्जी कम्पनी लिमिटेडले जनाएको छ । प्रभावित क्षेत्रका जनताले सहुलियतपूर्ण ढंगले शेयरमा लगानी गर्न पाउन् भनेर ताप्लेजुङ र पाँचथरका लाभग्राहीका लागि न्यूनतम् शेयर मूल्य १० हजार रुपैयाँ कायम गरिएको लिमिटेडले जनाएको छ ।

कम्पनीमार्फत ६२.६० मेगावाट बिद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा समाहित गरी आय आर्जन गर्ने,बैंकको कर्जाको साँवा व्याज भुक्तानी गरी शेयरधनीलाई लाभांस बितरण गर्ने योजना काबेली इनर्जी कम्पनी लिमिटेडले सार्वजनिक गरेको छ । निर्माणाधिन यो आयोजना अबको १५ महिना भित्र सक्ने तयारी रहेको छ । पाँचथरको याङवरक गाउँपालिका वडा नं ६ पिपलेमा २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजना निर्माण गरी २०७६ साल कात्तिक २३ गतेदेखि नियमित रुपमा विद्युत उत्पादन भई अमरपुर सव स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी सकिएको छ ।

व्यवसाय बिस्तार गर्ने क्रममा काबेली इनर्जी कम्पनीले बुटवल पावर कम्पनी लिमिटेडले यही काबेली नदीमा निर्माण गरिरहेको ३७.६० मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजना निर्माणमा साझेदारी गरी काम गरिरहेको जनाएको छ । उक्त जलविद्युत आयोजनाका लागि कम्पनीले शेयर निष्काशन गरेको हो । यो संगै अरुण काबेली पावर कम्पनी लिमिटेड अन्तरगत इंवाखोला र काबेली नदीमा गरी ७ वटा जलविद्युत आयोजना हुनेछन् । काबेली ए जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यसका लागि कुमारी बैंक लिमिटेडको नेतृत्वमा ४ अर्ब ५१ करोड रुपैयाँको बैंक लगानी हुने छ । ४० प्रतिशत भने स्वपूँजी रहेको छ । त्यो भनेको ३ अर्ब १ करोड रुपैयाँ हो ।

Similar Posts