ताप्लेजुङ गोल्डकपको प्रथम पुरस्कार माथिल्लो तमोरले दिने
-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १९ । लाखेजात्राको अवसरमा ताप्लेजुङमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशि बराबरको रकम माथिल्लो तमोर जलविधुत आयोजनाले उपलब्ध गराउने भएको छ । विजेताले पाउने सात लाख दुई हजार ८२ रुपियाँ रकम आयोजनाले दिने भएको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार आयोजनाको प्रवर्धक कम्पनी तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र आयोजना प्रमुख सम्झाना क्षेत्रीसँगको सम्पर्कपछि विजेताले पाउने पुरस्कार राशिबारे निश्चित भएको हो । यहाँको फक्ताङ्लुङ गाउँपालिका आयोजनास्थल रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविधुत आयोजनाको काम हाल निर्माणको चरणमा रहेको छ ।
यता यसवर्षको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा भारत, सिलिगुढीको एकसहित आठ टोली सहभागी हुने भएका छन् । आयोजकका अनुसार सिलिगुढीको लेजण्ड फुटबल एकेडेमी, इटहरीको द योङ ब्रदर्स क्लब, पोखराको साहारा क्लब, झापाको रेड स्टार फुटबल क्लब, काठमाडौंको चर्च ब्वाइज फुटबल क्लब सहभागी हुने छन् ।
त्यसतै मधेस प्रदेशको सलहेश युवा क्लब सिराहा, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, र आयोजकका तर्फबाट तेल्लोक स्पोर्टिङ क्लबको सहभागिता रहने छ । सहभागी टोलीबिच हुने खेल तालिकासमेत आयोजकले यसअघि नै सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको उपबिजेताले भने तीन लाख ५० हजार ८२ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । यसैगरी यसवर्षको प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । प्रतियोगिता यही साउन २४ देखि ३१ गतेसम्म फुङ्लिङस्थित भानुजन माविको खेलमैदानमा सञ्चालन हुने छ ।