गर्भनर पौडेलसंग ताप्लेजुङका व्यवसायीले राखे सहुलियतपूर्ण कर्जादेखि निजी बैंकलाई सुनचाँदी धितो कारोवारको माग
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ११ । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलसंग ताप्लेजुङका उद्योगी व्यवसायीले सहुलियतपूर्ण कर्जा देखि राष्ट्र बैंकबाट मान्यता प्राप्त निजी बैंकहरुलाई सुनचाँदी धितो राख्ने अनुमति दिन माग गरेका छन् ।
जिल्लाको आर्थिक समस्या र अवस्था बुझ्न गर्भनर पौडेलसहितको राष्ट्र बैंकको टोली फुङलिङ आइपुगेको बेला यहाँका उद्योगी व्यवसायी तथा किसान अगुवाहरुले समस्या बारे अवगत गराएका थिए । निर्माण व्यवसायी जसबहादुर लिम्बू र कालीबहादुर थेबेले निर्माण व्यवसाय क्षेत्रमा परेको असरको गाँठो फुकाउन राष्ट्र बैंकले सहज नीति निर्माण गरिदिनुपर्ने बतानुभयो । रकम भएजत्तिको मात्र बोलपत्र आवह्वान गर्नुपर्ने उहाँहरुको भनाई थियो । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तारानाथ घिमिरेले सहुलियतपूर्ण व्यवसायिक कर्जा सहज रुपले पाउने वातावरणका लागि राष्ट्र बैंक अग्रसर हुनुपर्ने सुझाव दिनुभयो । ताप्लेजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनु भएका घिमिरेले निर्माण व्यवसायीका लागि अधिकतम् घटी दर(बिलो रेट)तोक्न अनिवार्य रहेकोमा जोड दिनुभयो ।
अलैंची जोन ताप्लेजुङका पूर्व अध्यक्ष दिनेश अधिकारीले अलैंची किसान र व्यवसायीलाई अनुदान र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको ध्यानाकर्षण गर्नुभयो । बैंकको ब्याजमा एक रुपता कायम हुनुपर्ने र अलैंची किसानलाई रोपण देखि सिचाँईसम्म व्यवसायीलाई भण्डारण र प्याकेजिङसम्ममा कर्जा र अनुदान सहयोग प्राप्त भए उत्पादन तथा बिक्री व्यवस्थापन सहज हुने अधिकारीको भनाई थियो । घरेलु तथा साना उद्यमीकोतर्फबाट कुरा राख्दै ढाका कपडा व्यवसायी तथा उद्यमी शान्ति मादेनले कच्चा पदार्थको आयात देखि व्यवसाय प्रवद्र्धनसम्ममा सहयोगको याचना गर्नुभयो । कृषक अगुवा नन्दकुमार आङवुहाङले कृषि क्षेत्रप्रतिको घट्दो भरोसा अन्त्य गरी व्यवसायिक कृषि प्रणालीमा आवद्ध गराउने पद्धति पुर्नस्थापना गर्न कृषकहरुलाई अनुदान देखि सहुलियतपूर्ण कर्जासम्मको व्यवस्थाको माग गर्नु भएको छ् । उहाँले सबै व्यवसायीहरुलाई व्यवसायिक पान नम्बर अनिवार्य गर्न राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताउनु भएको छ ।
पाथभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सजन पौडेलले राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’वर्गसम्मका बैंकलाई सुनचाँदी धितो राखी कारोवार गर्न दिने अनुमति प्रदान हुनुपर्ने बताउनुभयो । ताप्लेजुङमा सरकारको स्वामित्वका तीन सहित १४ वटा बैंक रहेको सुनाउँदै उनले नेपाल बैंक लिमिटेडलाई मात्र बैंकबाट सुनचाँदी धितो राखी कारोवार गर्न दिने अनुमति रहेको उहाँको दावी थियो । इलाम र पाँचथरका उद्योगी,व्यवसायी र सरोकारवालासंग छलफल सकेर ताप्लेजुङ आएको टोलीमा गर्भनर पौडेलका साथ राष्ट्र बैंकका रामु पौडेल,डाक्टर रामशरण खरेल,सुमन न्यौपाने र दिपेश प्रधान समेत रहनु भएको छ ।