एमाले महाधिबेशन प्रतिनिधि चयन:ताप्लेजुङका टाढाका स्थानबाट पठाइयो निर्वाचन सामग्री,६ बुँदे आचार संहिता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ११ । नेकपा एमालेको महाधिबेशनमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि चयनका क्रममा वडा–वडामा हुने निर्वाचनका लागि मतपत्र सहितको निर्वाचन सामग्री पठाउन थालिएको छ ।

दुर्गम र दूरीका हिसावले टाढा रहेका क्षेत्रमा मतपत्र सहितका सामग्री बिहीबार पठाईएको निर्वाचन समितिका संयोजक राजकुमार चुडाँलले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवार नजिकका क्षेत्रमा मतपत्र सहितका सामग्री पठाइने छ । शनिवार प्रत्येक वडाहरुमा रहेका एमालेका संगठित सदस्यहरुले आफुलाई मन परेको उम्मेदवारलाई मतदान गर्नेछन् । चुडाँलका अनुसार १२ का लागि २६ जनाको उम्मेदवारी परेको छ । भूगोलतर्फबाट ६ जना चयन हुनुपर्ने प्रतिनिधिका लागि १४ जनाको उम्मेदवारी छ । ४ महिला प्रतिनिधिका लागि ७ जनाको,१ दलित प्रतिनिधिका लागि ३ जनाको र १ युवा (४० बर्ष मुनि उमेर समूह)प्रतिनिधिका लागि २ जनाको उम्मेदवारी परेपछि निर्वाचनमार्फत महाधिबेशन प्रतिनिधि चयन हुन लागेको हो । यसअघि सहमतिबाट महाधिबेशन प्रतिनिधि चयन गर्नका लागि भएका छलफल सार्थक निश्कर्षमा नपुगेपछि निर्वाचन समितिले बुधवार अपरान्ह उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचनको तयारी थालेको हो । नेकपा एमालेका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले मतदानका लागि आवश्यक पर्ने सामग्री प्रत्येक वडातर्फ पठाईएपनि सहमतिको प्रयास भने जारी राखिने जानकारी दिनुभयो ।

निर्वाचन समिति संयोजक चुडाँलका अनुसार मतपत्रमा(अल्फाबेट)बर्णानुक्रम अनुसारको नामावली राखिएको छ । महाधिबेशन प्रतिनिधिका लागि उम्मेदवार भएका बाहेक पार्टीका पालिका अध्यक्षहरुलाई मतपत्रसहितका सामग्री सम्वन्धित पालिकाको वडा कमिटीसम्म पु¥याउने जिम्मेवारी प्रदान गरिएको चुडाँलले जानकारी दिनुभयोे । महाधिबेशन प्रतिनिधिका लागि उम्मेदवार भए मतपत्र सहितको सामग्री पालिका कमिटीको उपाध्यक्षलाई बुझाईने छ । उपाध्यक्ष पनि उम्मेदवार भएको भए सचिवले उक्त जिम्मेवारी लिनेछन् । वडा कमिटीका अध्यक्षलाई निर्वाचन अधिकृत तोकिएको छ । वडा कमिटीका अध्यक्ष समेत उम्मेदवार भएको भए सो भन्दा तल्लो पदका व्यक्तिलाई निर्वाचन अधिकृत तोकिएको चुडाँलले बताउनुभयो । मतदान सम्पन्न भएपछि पालिका र वडा कमिटीको समन्वयमा मतपत्र सदरमुकाम केन्द्रित गरी मतगणना गरिने उनको भनाई रहेको छ । ताप्लेजुङमा एमालेका ७ हजार ७८ संगठित सदस्य रहेको एमाले जिल्ला प्रचार विभाग प्रमुख तथा जिल्ला सचिव सन्तोष चाम्लिङले जानकारी दिनुभयो ।

निर्वाचन समितिले मतदानका लागि ६ बुँदे आचार संहिता बनाएको छ । तोकिएको कोटा संख्या अनुसार आफुले इच्छाएको उम्मेदवारलाई ठीक चिन्ह(राईट)चिन्ह लगाउनुपर्ने,निर्वाचन समितिले तोकेको कलम बाहेक अर्को कलम प्रयोग गर्न नपाइने,मतदाताले आफ्नो नाम रहेको मतदान केन्द्रमा मात्र मतदान गर्न पाउने,मतदान गर्दा मत चिन्ह बाहेक कुनै अरु चिन्ह(ल्याप्चे,सहि,नाम जस्ता)वा संकेत गर्न नपाईने,आफुले चाहेको उम्मेदवारको खाली कोष्ट भित्र मात्र मतदान गर्नुपर्ने र मतदान गर्दा खुल्लातर्फ ६,महिलातर्फ ४,दलिततर्फ १ र युवातर्फ १ जनालाई मात्र मतदान गर्नुपर्ने संहिता एमालेको निर्वाचन समितिले बनाएको छ ।

Similar Posts