ताप्लेजुङ आँखा स्वास्थ्य शिविर: २०९ जनाको आँखाको शल्यकृया,१६ सय बढीले लिए ओपिडी सेवा
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २ । ताप्लेजुङमा शनिबारदेखि जारी शल्यकृया सहितको आँखा स्वास्थ्य शिविरमा २ सय ९ जनाको आँखाको शल्यक्रिया गरिएको छ । १ हजार ६ सय बढीले परीक्षण तथा उपचार सेवा पाएका छन् । ति मध्ये २ सय ५ जना मोतिया बिन्दुका र ४ जनाको साधारण शल्यकृयाका बिरामी रहेका छन् ।
आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उप सभापति तथा शिविर प्रचार प्रसार समिति संयोजक खगेन्द्र अधिकारीका अनुसार डाक्टर सन्दुक रुइतले ७९ तथा सन्दुकका छोरा डाक्टर सागर रुइतले १ सय ३० जनाको आँखाको शल्यकृया गर्नु भएको छ । सन्दुक र सागर बाबुछोराले एकैदिनमा १ सय ७ जनाको आँखाको शल्यकृया गर्नु भएको थियो ।
डाक्टर सन्दुक बिशेष कामले शिविर सकिने दिन मंगलवारनै काठमाडौंतर्फ प्रस्थान गर्नु भएको छ । मंगलवार डाक्टर सन्दुकका छोरा सागरले शल्यकृया सेवाको नेतृत्व गर्नु भएको थियो ।
शिविर अवधिमा १ हजार ६ सय ३३ जनाले आँखा परीक्षण तथा उपचारका लागि नाम दर्ता गराएको नेपाल नेत्रज्योति संघद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो ।
कातिक २९ देखि सुरु भएको परीक्षण तथा उपचार शिविर मंगलवार आज सकिएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको मुख्य आयोजना तथा तिलगंगा आँखा अस्पताल,रुईट फाउण्डेसन, सेवा फाउण्डेसन र फुङलिङ नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो ।