फुङलिङमा कवि पराजुलीको कविता कन्सर्ट
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ३० । युवा पुस्ताको रोजाइका कवि तथा साहित्य सर्जक नवराज पराजुलीले ताप्लेजुङ सदरमुकाम फुङलिङमा कविता कन्सर्ट प्रस्तुत गर्नु भएको छ ।
बाल मन्दिर आधारभूत विद्यालय अन्तर्गत रहेको अपाङ्ग बाल आवास गृहमा रहेका बालबालिका तथा नेपाल नेत्रहिन संघमा आबद्ध व्यत्तित्वहरूको सहयोगका लागि ‘कविता कन्सर्ट’ आयोजना गरिएको यसको संयोजन गरेका सागर मादेनले जानकारी दिनुभयो । मादेन लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष समेत हुनुहुन्छ । ‘शब्दले हृ्दय जोड्ने’ असल मनशायका कन्सर्ट आयोजना गरिएको मादेनले बताउनुभयो । कविता कन्सर्टमा जनही २ सय रुपैयाँ बराबर टिकट दर कायम गरिएको थियो । आयोजकले भनेजस्तै परोपकारी काममा सहयोग गर्ने मनशायका साथ आफुले ताप्लेजुङका लागि समय अर्पण गरेको पराजुलीले बताउनुभयो ।
गत बैशाख अन्तिमसाता सिरिजङ्गा गाउँपालिकाले करिव ३ हजार ५ सय मिटर उचाईको वडा नं ८ स्थित नयाँ झोरेनीमा आयोजना गरेको महोत्सवका बेला समेत उहाँको कविता कन्सर्ट रहेको थियो । साहित्यकार पराजुली कविता लेखन र बाचन शैलीका कारण प्रख्यात हुनुहुन्छ । ‘सगरमाथाको गहिराई’ नामको पराजुलीको पुस्तक पद्मश्री पुरस्कारबाट पुरस्कृत भएको छ । पराजुलीका अधिकाँस कविता निजी जीवनमा आधारित भएर कोरिएको भेटिन्छ । अंग्रेजी साहित्यमा स्नातकोत्तर पराजुली युवा पुस्ता माझ पनि उत्तिकै रोजाइको केन्द्रमा रहनु भएको छ । कविताका बारेमा कम मात्र चासो राख्नेहरूलाई पनि पराजुलीको कविता लेखन र बाचन शैलीले मोहित बनाउने गरेको पाइन्छ ।