फुरुम्बुमा प्रहरीको नागरिक सुनुवाई:नागरिक–प्रहरी सहकार्यबाट समाजलाई अपराधरहित बनाउन सकिने निश्कर्ष
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १९ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका नागरिकहरुले नागरिक–प्रहरी सहकार्यबाट समाजलाई अपराधरहित र शान्त बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
प्रहरीले कुलत,कुसंस्कार,लागु औषध दुर्व्यसन र मादक पदार्थ सेवन गरी समाजलाई अहित हुने कार्य नियन्त्रणका लागि आफ्नो सक्रियता थप बलियो बनाउनुपर्ने उनीहरुको सुझाव रहेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बुधवार फुरुम्बुमा आयोजना गरेको नागरिक सुनुवाईका क्रममा फुरुम्बुबासी शान्ति सुरक्षा र अमनचयन प्राप्त गर्न नागरिक–प्रहरी सहकार्यको पक्षमा खुले । फुरुम्बुबासीले प्रहरीले सञ्चालन गर्ने नागरिक सुनुवाई कार्यक्रम आफ्नो गाउँमा पहिलोपटक आएको भन्दै आयोजकलाई धन्यवाद समेत दिए । स्थानीय नवीन फुरुम्बुले पर्यटकीय क्षेत्र समेत भएको र बिभिन्न बस्ति आउजाउको क्षेत्र समेत भएकोले फुरुम्बुमा अस्थायी प्रहरी चौकीको व्यवस्था गरिदिन जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम समक्ष अनुरोध गर्नुभयो । गौतमले अस्थायी प्रहरी चौकी स्थापना गर्न सकिने सम्भावनाका बिषयमा अध्ययन गर्ने तर प्रहरी बिट राख्ने कुरामा आफु सकारात्मक रहेको बताउनुभयो ।
स्थानीय डम्बर थापाले मादक पदार्थ सेवन गरी समाजमा अनावश्यक होहल्ला गर्ने,डर र त्रास देखाउने व्यक्ति र शक्ति बिरुद्ध प्रहरी निगारानी बढाउन माग गर्नुभयो । जिल्ला प्रहरी प्रमुख गौतमले समाजलाई अशान्त बनाउने जोकोही बिरुद्ध पनि प्रहरीले निगारानी बढाउने बताउँदै सम्भावित अपराधका घटनाको शीघ्र सूचना दिएर सहयोग गर्न नागरिकलाई आग्रह गर्नुभयो । मादक पदार्थ सेवन पछिको गलत हर्कत र लागु औषध दुर्व्यसन बिरुद्ध प्रहरीको सक्रियता थप प्रभावकारी हुनुपर्ने स्थानीय नरेश फुरुम्बो लिम्बूको माग थियो । स्थानीय रिइन्द्र कार्कीले समाजलाई अपराधरहित बनाउने कार्यमा नागरिकस्तरबाट सहयोग मिल्ने बताउँदै प्रहरीले नागरिकको जीउधन सुरक्षा गर्ने सवालमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिनुभयो । स्वास्थ्यकर्मी हेमन्ता गौतमले उपचारका लागि आउने कतिपय घटनाहरु प्रहरीको सहयोग र अनुसन्धान आर्कषित हुने खालका हुँदा कानुनले आफुमाथि कस्तो प्रभाव पार्छ भन्ने जिज्ञासा राख्नुभयो ।
जिल्ला प्रहरी प्रमुख गौतमले लागु औषध दुर्व्यसन बिरुद्ध ताप्लेजुङ प्रहरीले उच्च स्तरको निगारानी बढाईरहेको र यसको कारोवारी देखि दुर्व्यसनमा सम्वद्धसम्मलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही गरिरहेको जानकारी दिनुभयो । प्रहरीको सक्रियतामा कमी नआएको बरु थप सूचना भए दिन नागरिकलाई आग्रह गर्नुभयो । उहाँले मादक पदार्थको सेवन पछि हुने गरेका गलत हर्कत र सामाजिक मान्यता र कानुन बिरोधी घटनाप्रति प्रहरीले कुनै सम्झौता नगर्ने बताउनुभयो । गौतमले नागरिक–प्रहरी सहकार्यबाट समाजलाई शान्त,सभ्य,अमनचयन सहितको बनाउन सकिनेमा जोड दिनुभयो । स्वास्थ्यकर्मीले प्रारम्भिक परीक्षण र उपचारका क्रममा प्रहरीको अनुसन्धान आवश्यक हुने प्रकृतिका सम्भाव्य घटनाका बारेमा जानकारी दिने हो भने अपराधमा संलग्नको खोजी र अनुसन्धान बलियो र प्रभावकारी हुने गौतमले बताउनुभयो ।
कार्यक्रममा उपस्थित जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिमले जन्म देखि मृत्युसम्मको सहजताका लागि नागरिकलाई प्रहरीको आवश्यकता पर्ने भएकोले नागरिक र प्रहरी दुबैले कर्तव्य बुझ्नमा विलम्ब र कञ्जुस्याँई गर्न नहुने बताउनुभयो । शान्ति सुरक्षा सम्झौताहिन बिषय भएकोले प्रहरीले नागरिकको जीउधनको सुरक्षालाई सम्झौताहिन हिसावले बोध गर्नुपर्ने उहाँको भनाई छ । फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले आफु फुङलिङ नगरपालिकाको न्यायिक समितिको संयोजक समेत भएको नाताले घटना र सन्दर्भका बारेमा प्रहरी संगठन संगको सहकार्यले ठूलो सहयोग मिलेको बताउनुभयो । आम नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको दायित्व भित्र पर्ने भएकोले अपराधरहित समाज बनाउने कार्यमा सबैले होस्टेमा हैंसे गर्नुपर्ने ओझाको भनाई थियो ।
कार्यक्रमको संयोजन गर्नु भएका फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले शान्ति सुरक्षामा सन्दर्भमा सम्झौता गर्न नसकिने बताउँदै नागरिकले कर्तव्य बुझ्ने र प्रहरीले दायित्व निर्वाह गर्ने हो भने समाज शान्त र सुव्यस्थित हुने बताउनुभयो । नागरिकले कर्तव्य भुल्दा र प्रहरीले जिम्मेवारी सहज रुपले पूरा नगर्ने हो भने समाज अपराधको बाटोमा जाने भएकोले यसतर्फ सबैपक्ष सजग,सर्तक र सम्बेदनशिल हुनुपर्ने उहाँको जोड थियो ।