|

सशस्त्र प्रहरीद्वारा तिब्बतसँगको सीमा क्षेत्र निरीक्षण

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १८ । सशस्त्र प्रहरीले ताप्लेजुङस्थित उत्तरी सीमा क्षेत्रको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा र ओलाङ्चुङगोला बिओपी (बोर्डर आउट पोष्ट) को टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको हो ।
कञ्चनजङ्घाका गुल्मपति एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको हो । ओलाङ्चुङगोलास्थित चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमा क्षेत्र सशस्त्र प्रहरीले निरीक्षण (गस्ती) गरेको हो ।
यही कात्तिक ११ देखि १६ गतेसम्म सीमा क्षेत्रको निरीक्षण गरेर सशस्त्र प्रहरी टोली सदरमुकाम फुङ्लिङ फर्फिएको सप्रनाउ पाठकले जानकारी दिनुभयो । उहाँकाअनुसार कञ्चनजङ्घा गुल्म र बिओपीको संयुक्त टोलीले फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित मौवाटार र चार हजार ६०० मिटर उचाइ रहेको स्यामचुङ क्षेत्रसम्म निरीक्षण गरेको छ ।
पछिल्लो साता भएको वर्षा र हिमपातका कारण स्यामचुङभन्दा माथि जान नसकेको सप्रनाउ पाठकले जानकारी दिनुभयो । मौवाटार र सोभन्दा माथिको क्षेत्रमा बाक्लो हिउँ परेकाले जान नसकिएको उहाँले बताउनुभयो । सीमा क्षेत्रको भ्रमणमा निस्किएकै अघिल्लो दिनदेखि मोन्था चक्रपाथका कारण वर्षा सुरु भएको र सो वर्षासँगै मौसम प्रतिकूल बने पनि त्यसको कुनै प्रवाह नगरी सशस्त्र प्रहरी टोलीले सीमा क्षेत्रको गस्ती अर्थात निरीक्षण गरेको उहाँको भनाइ छ ।
गतवर्ष पनि ओलाङ्चुङगोला बीओपीको टोलीले टिपताला क्षेत्रको निरीक्षण गरेको थियो । समुद्री सतहदेखि पाँच हजार १५० मिटर उचाइमा अवस्थित टिपताला नेपाल–तिब्बतको नाका क्षेत्र हो । टिपताला पुग्नलाई ओलाङ्चुङगोलादेखि तीन दिन पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

Similar Posts